१८ असार २०८३, बिहीबार

खजुरा गाउँपालिकाका स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण सम्पन्न
  • न्युज मानसराेवर

खजुरा, बाँके। खजुरा गाउँपालिकाको आयोजना तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा पालिका स्तरीय स्वास्थ्य संस्थाहरूको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिका अन्तर्गत सञ्चालित स्वास्थ्य संस्थाहरूको अवस्था, उपलब्धि, सबल पक्ष तथा सुधार गर्नुपर्ने विषयमा कार्यक्रममार्फत विस्तृत समीक्षा र छलफल गरिएको थियो।

सामाजिक परीक्षण कार्यक्रमका विज्ञका रूपमा बसन्त कुमार विसीले सहजीकरण गरेका थिए। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत सुधार, आवश्यक कार्यविधि निर्माण, पर्याप्त बजेट व्यवस्था तथा भौतिक पूर्वाधारमा सुधार आवश्यक रहेको बताइन्।

उनले सामाजिक परीक्षण प्रतिवेदनले औँल्याएका सुझावहरूलाई कार्यान्वयन गर्दै आगामी दिनमा स्वास्थ्य सेवालाई थप प्रभावकारी र सेवामुखी बनाइने प्रतिबद्धता व्यक्त गरिन्। त्यसैगरी, गाउँपालिका प्रवक्ता तथा खजुरा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धनराम ओली क्षेत्रीले स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि विश्वव्यापी मान्यता र मापदण्डअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

उनले गुणस्तरीय स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै देशलाई सक्षम, स्वस्थ र आत्मनिर्भर बनाउन स्वास्थ्य क्षेत्रको विकास अपरिहार्य रहेको बताए। उनले स्थानीय सरकार नागरिकलाई आधारभूत स्वास्थ्य सेवा सहज र गुणस्तरीय रूपमा उपलब्ध गराउन प्रतिबद्ध रहेको समेत स्पष्ट पारे। कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखाका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीय सेवाग्राही तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सामाजिक परीक्षणबाट प्राप्त सुझावहरूले आगामी दिनमा स्वास्थ्य सेवा सुधार तथा प्रभावकारी व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। कार्यक्रमको अध्यक्षता पालिका प्रवक्ता धनिराम ओली क्षेत्रीको अध्यक्षतामा संचालन गरिएको थियो ।

  • १८ असार २०८३, बिहीबार प्रकाशित

  • Nabintech