२ माघ २०८१, बुधबार

सञ्चारगृह संकटमा पर्दा पत्रकारमाथि सुरक्षा चुनौती
  • न्युज मानसराेवर

बुटवल- कोरोना महामारीसँगै नेपाली पत्रकारितामा सुरक्षा चुनौती थपिएको पत्रकार सम्बद्धहरूले बताएका छन्। नेपाल पत्रकार महासंघसँगको सहकार्यमा मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले आइतबार बुटवलमा आयोजना गरेको फ्रि मिडिया नेटवर्कको पैरवी रणनीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले पत्रकारिता पेशामा कोरोनासँगै नयाँ नयाँ चुनौतीहरू थपिएको बताइएको हो।

सञ्चार माध्यमको दीगोपनामा निकै ठूलो चुनौती देखा परेकाले यसले पत्रकारहरूको भविष्य नै असुरक्षित बनाइदिएको पत्रकार सम्बद्ध व्यक्तिहरूको चिन्ता थियो। कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सदस्य रमा अर्यालले पत्रकारिता क्षेत्रको खबरदारीले सुशासनयुक्त समाज निर्माण गर्न सहयोग गरेको भन्दै सञ्चारगृह र पत्रकारहरूलाई संरक्षण गर्नुपर्ने बताइन्। उनले पत्रकारको भौतीक र पेशागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिइन्। उनले प्रदेश सरकारले ल्याएको सञ्चार ऐनका सन्दर्भममा आफहरू त्यसलाई संशोधन गर्न तयार रहेको बताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डेले कोरोनाले सञ्चारगृह र पत्रकार निकै नराम्रोसँग प्रभावित भएको बताए। उनले तीन तहको सरकार सञ्चारगृहको संरक्षणमा ध्यान दिनुपर्ने बताए। उनले पत्रकार समाचार लेखेका कारण असुरक्षित हो की उसको चरित्रका कारण त्यसबारे पनि छलफल गर्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंले पञ्चायतकालमा सञ्चारगृह प्रतिबन्धित भए पनि सरकारी संयन्त्र मिडियामैत्री रहेको बताए। तर, अहिले जनप्रतिनिधिलाई चुनेर पठाएको बेला सञ्चारगृहले कुनै पनि सेवा सुविधा नपाएको बताए।

संविधानसभा सदस्य विनोद पहाडीले प्रेस स्वतन्त्रताको वकालत गरे पनि सूर्ती उद्योगले जती पनि सुविधा नपाएको भन्दै सरकार नेपाली मिडियाप्रती उदासिन बनेको बताए। कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य खेम लुईटेलले नेपाली पत्रकारिता पत्रकारिताले ग्रामिण भेगको समाचार अझै प्रकाशमा ल्याउन नसकेको बताए । नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले पत्रकारले समेत आचार संहिता पालना गर्नुपर्ने भन्दै पेशागत सुरक्षाका सवालमा सबै चिन्तित हुनुपर्ने बताए।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार दिनेश पाण्डेले आफ्नाविरुद्ध समाचार आउने वित्तिकै निजि क्षेत्रका व्यापारीले त्यसलाई अफवाहका रुपमा फैलाएको बताए। पत्रकारको भौतीक सुरक्षा र जवाफदेहि पत्रकारिताका लागि नेटवर्कमार्फत छलफल जारी राखिएको महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बताए।

  • ३२ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech