बाँके। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा बुधबारदेखि सुरु गर्दै छ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो ।
परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि बिस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको जनाइएको छ ।
यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो । यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ ।
परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।
विद्यार्थीको उत्तरपुस्तिका सङ्कलन गरी बोर्डले आफ्नै तरिकाबाट परीक्षण गर्ने जानकारी परीक्षा नियन्त्रक शर्माले दिए । सङ्क्रमण कम भएका कारण उत्तरपुस्तिका सङ्कलन गर्न लागिएको उनले बताए ।
गत वर्षको कक्षा १२ को परीक्षामा भने उत्तरपुस्तिकाको परीक्षण परीक्षा केन्द्रमा नै गर्ने व्यवस्था मिलाइएको थियो ।यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ ।
आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिनुभयो । यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ । गोरखापत्र दैनिकमा खबर छ ।