७ मंसिर २०८१, शुक्रबार

पर्यटकका लागि खुल्यो बर्दिया राष्ट्रिय निकुञ्ज
  • न्युज मानसराेवर

बर्दिया। कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै गत वैशाख दोस्रो सातादेखि पर्यटकका लागि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज आज (असोज एक गते)बाट खुल्ने भएको छ।

सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर असोज १ गतेबाट पर्यटकलाई अवलोकनका लागि प्रवेशको व्यवस्था गरिएको निकुञ्ज व्यवस्थापनले जनाएको छ।

चार महिनापछि असोज १ गतेदेखि निकुञ्ज खोल्ने बताउँदै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले हाल पर्यटकलाई जङ्गल ड्राइभ (सफारी), –याफ्टिङ र जङ्गल वाक गर्न मात्र अनुमति दिइएको जानकारी दिए।

पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनु पर्ने, सफारी गर्दा जिपमा ६० प्रतिशत मात्रै पर्यटक बस्नुपर्ने, पैदल अवलोकन गर्दा एक जना गाइड र तीनजना मात्र जानुपर्ने व्यवस्था गरिएको उनले बताए।

चार महिनापछि पर्यटकका लागि निकुञ्ज खुल्न थालेपछि पर्यटन व्यवसायीले खुसी व्यक्त गरेका छन्। होटल संघ नेपाल बर्दियाका अध्यक्ष मोहन चौधरीले निकुञ्ज खुल्ने भएपछि अब फेरी ठुलो संख्यामा पर्यटक भित्रिने आशा पलाएको जनाउँदै व्यवसाय सुरु हुने बताए। लामो समय बन्द रहेका होटलहरु अब खुल्ने र ठाकुरद्वारा क्षेत्रमा चहलपहल बढ्ने आशा उनले व्यक्त गरे।

अध्यक्ष चौधरीका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज आसपास २६ वटा साना–ठुला होटल सञ्चालनमा रहेका छन्। यहाँका अधिकांश होटल व्यवसायीले पर्यटकका लागि विशेष छुटको व्यवस्थासमेत गरेका छन्।निकुञ्जमा सहजै बाघ हेर्न पाइने हुँदा स्वदेशी र विदेशी पर्यटक ठुलो संख्यामा पुग्ने गरेका छन्।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech