काठमाडौँ। सरकारले भदौ २५ गते संसदमा पेश गरेको पूरक बजेट प्रतिनिधि सभाबाट पारित भएको छ ।
विनियोजन विधेयक असोज ४ गते पारित भएकोमा बजेटका पूरक विधेयक बिहीवार पारित भएका हुन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकबाट आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित भएको हो ।
प्रतिनिधि सभाबाट पारित विनियोजन विधेयक राष्ट्रिय सभाबाट पनि पारित भएको छ ।
पूरक विधेयकको रुपमा रहेका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाबाट बजेट पारित भएको हो ।
यी विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएपछि प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा जानेछन् ।
पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेश मार्फत जेठ १५ गते ल्याएको बजेट प्रतिस्थापनका लागि सरकारले भदौ २५ गते विनियोजन विधेयक प्रतिनिधि सभामा पेश गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध र नाराबाजीका बाबजुत प्रतिनिधि सभाबाट बजेट पारित भएको हो ।
माधव नेपाल लगायत १४ सांसदलाई पदमुक्त गर्ने पत्र कार्यान्वयन नगरेको भन्दै एमालेले संसदको अधिवेशन शुरु भएको दिनदेखि संघीय संसदका दुवै सदनमा अवरोध गरिरहेको छ ।
बजेट सम्बन्धी विधेयक पारित गरेर प्रतिनिधि सभा बैठक असोज ११ गते सोमवार सम्मको लागि स्थगित भएको छ ।