७ मंसिर २०८१, शुक्रबार

लुम्बिनी बौद्ध विश्वविद्यालयले अस्पताल बनाउँदै
  • न्युज मानसराेवर

बुटवल ।लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्य अन्तर्गत लुम्बिनीमा अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ ।

धुलिखेल अस्पतालसंगको सहकार्यमा अस्पताल बनाउने योजना अघि बढेको हो ।

बौद्ध विश्वविद्यालयले प्राज्ञिक उन्नयनका साथै परोपकारी लक्ष्यसहितका कार्यमा जोड दिदै आएको छ । धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो । जनरल अस्पतालबाट स्वास्थ्य सेवा शुरु गर्ने योजना विश्वविद्यालयले बनाएको छ ।

‘हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरुप दिन खोजिरहेका छौ’ विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले भने, ‘अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुग्नेछ ।’ अस्पताल सञ्चालनपछि स्थानीय समूदाय विश्वविद्यालदयसंग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उनले बताए ।

विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ । यो जग्गा बाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजि भइरहेको रजिष्ट्रार आचार्यले बताए ।

अस्पताल निर्माणपछि लुम्बिनी क्षेत्रबासीले उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ । अहिले सामान्य उपचारका लागि पनि भैरहवा, बुटवल आउनुपर्ने बाध्यता रहेको छ । अस्पतालमा विशेषज्ञ डाक्टरसहित ८ जनासम्म स्वास्थ्यकर्मी रहने परिकल्पना गरिएको छ । यसलाई विस्तार गर्दै ५० बेडसम्मको अस्पताल सञ्चालन गर्ने योजना रहेको छ ।

विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माण स्थलको अध्ययन गरेको छ । धुलिखेल अस्पतालका डा. प्रविन कर्माचार्य र दिनेश थापाको टोली र विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो ।

अस्पतालको प्राविधिक टोलीले विश्वविद्यालयका पदाधिकारीसँग छलफल समेत गरेको छ । सो अवसरमा बोल्दै उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै विरामीको उपचार गर्नु परोपकारको काम रहेको बताए । उनले विश्वविद्यालयले परोपकारी काम गर्न अग्रसरता दिइरहने बताए ।

विश्वविद्यालयका अन्र्तराष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक सन्जिव हुमागाईँले आउटरिच स्थापनाले लुम्बिनीको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सकिने बताए । स्वास्थ्य जनचेतनादेखि उपचारसम्मको जिम्मेवारी विश्वविद्यालयले लिएर अघि बढ्न सक्ने उनले बताए ।

  • २१ आश्विन २०७८, बिहीबार प्रकाशित

  • Nabintech