१६ बैशाख २०८२, मंगलवार

एमाले महाधिवेशन : चितवनमा ‘मानव सागर’ उतार्ने, ५ हजार स्वयंसेवक परिचालन
  • न्युज मानसराेवर

बाँके\ नेकपा एमालेका सचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले १०औं राष्ट्रिय महाधिवेशनको अवसरमा चितवनमा ‘मानव सागर’ उतार्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन जिल्ला शाखाले बिहीवार महाधिवेशन आयोजनास्थल नारायणी नदी किनारमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले भव्यतापूर्वक महाधिवेशन सम्पन्न गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।

‘महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारीको काम सम्पन्न भएको छ । अब फिनिसिङको काम मात्रै बाँकी छ । ९५ प्रतिशतभन्दा बढी काम सकिएको छ,’ भट्टराईले भने ।

महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि ५ हजार स्वयंसेवक परिचालन गरिएको उनले बताए ।

एमालेले महाधिवेशन उद्घाटन समारोहमा देशभरबाट ५ लाखभन्दा बढी सहभागी गराउने दाबी गरेको छ । महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार गरिएको छ । नारायणी नदीको चितवनतर्फको किनारमा मात्रै सहभागी नअट्ने भएकाले नवलपरासी, गैंडाकोटतर्फको किनारमा पनि बस्ने व्यवस्था मिलाइएको भट्टराईले बताए ।

महाधिवेशन आयोजनास्थलमा ठूला ‘डिजिटल स्क्रीन’ सजाइएको छ । मञ्चबाट धेरै पर रहेका सहभागीले मञ्चको गतिविधि स्क्रीनमा हेर्न पाउने व्यवस्था मिलाइएको उनले बताए ।

नारायणगढ बजार क्षेत्रमा एमालेको चुनाव चिह्न सूर्य र कम्युनिस्ट पार्टीको झण्डा हँसियाहथौडा अंकित झण्डा र व्यानर सजाएर झकिझकाउ बनाइएको छ । महाधिवेशनमा सहभागीलाई स्वागत गर्न विभिन्न ठाउँमा स्वागतद्वारहरू बनाइएको छ ।

दिउँसो १२ बजे उद्घाटन, शीर्ष नेताको सम्बोधन

शुक्रबार दिउँसो १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले १०औं महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको भट्टराईले बताए ।

महाधिवेशनको उद्घाटन समारोहलाई एमालेका शीर्ष तहका नेताले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसबाहेक नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सम्बोधन गर्ने भट्टराईले बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनलाई सम्बोधन गर्ने भट्टराईले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने अहिलेसम्म एमालेको महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुने वा नहुनेबारे यकिन गरी नसकेको भट्टराईले बताए ।

एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।

२ हजार १७५ प्रतिनिधि सहभागी

नेकपा एमालेको महाधिवेशनको बन्द सत्रमा २ हजार १७५ जना प्रतिनिधि सहभागी हुने टुंगो लागेको भट्टराईले बताए । जसमा ६२५ जना महिला र २०९ जना दलित तथा उत्पीडित समुदायबाट प्रतिनिधि सहभागी हुने उनले बताए । महाधिवेशनको बन्द सत्रमा कूल प्रतिनिधिको ३० प्रतिशतभन्दा बढी महिला र १० प्रतिशतभन्दा बढी दलित तथा उत्पीडित समुदायका प्रतिनिधि सहभागी हुन लागेको एमालेले बताएको छ । १०३ जना प्रतिनिधि पर्यवेक्षक सहभागी हुनेछन् ।

‘सार्वजनिक सवारीसाधन चल्न दिन्छौं’

एमालेको महाधिवेशन उद्घाटन हुने दिन मंसिर १० गते चितवनमा सार्वजनिक सवारी आवागमन सञ्चालन नै रहने एमाले प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

चितवन जिल्ला प्रशासन कार्यालयले १० गते नाराणगढ बजार क्षेत्रमा ‘नो भेइकल मुभमेन्ट’ लागू गर्न लागेको भए पनि एमालेले त्यसमा आफ्नो सहमति नरहेको बताएको छ ।

‘मानिसको हिँडडुल गर्न पाउने सुविधालाई कसैले रोक्न सक्दैन । एमालेले पनि रोक्दैन । सबै सवारीसाधन चल्न पाउँछन् । हाम्रा स्वयंसेवकहरूले त्यसको व्यवस्थापन गर्नेछन्,’ भट्टराईले भने ।

एमालेको सभामा सहभागी हुने मानिस ल्याउने गाडीबाहेक पनि सार्वजनिक सवारीसाधन चल्न कुनै व्यवधान नगर्ने उनले बताए तर ठूला मालबाहक सवारीसाधन भने त्यसदिन नारायणगढ बजार क्षेत्रमा नल्याइदिन अनुरोध गरेको उनले बताए ।

‘मालबाहक ठूला सवारीसाधन हाइवेमा नल्याइदिन आग्रह गरेका छौं । हिँडडुल गर्न पाउने मानिसको अधिकार एमालेले कुण्ठित गर्दैन,’ उनले भने ।  लोकान्तनरमा प्रकाशित

  • ९ मंसिर २०७८, बिहीबार प्रकाशित

  • Nabintech