१८ बैशाख २०८१, मंगलवार

बाँकेका ७ हजार घरधुरी स्वच्छ खानेपानीबाट वञ्चित

८० प्रतिशत घरधुरीले ह्याण्डपम्प प्रयोग, खानेपानीका थुप्रै योजना अधुरै

  • न्युज मानसराेवर

बाँके बैजनाथ\बाँकेका करिब ७ हजार घरपरिवार अझै पनि स्वच्छ खानेपानीबाट वञ्चित छन् । जिल्लाका ९३ हजार ४ सय २ घरधुरीमध्ये ६ हजार ६ सय ७२ घरधुरीमा अझै पनि स्वच्छ खानेपानी पुग्न सकेको छैन ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जले बाँके जिल्लाका कुल ८६ हजार ७ सय ३० घरधुरीमा खानेपानीको पहुँच पुगेको उल्लेख गरेको छ । सरकारको सन् २०२० सम्म नेपालका सबै जनतासम्म आधारभूतस्तरको खानेपानी पुराउने लक्ष्यअनुसार बाँकेका ९३ हजार ४ सय २ घरधुरीमध्ये ८६ हजार ७ सय ३० घरधुरीमा खानेपानीको पहुँच पुगेको छ ।

स्वच्छ पानी पुग्न नसकेका घरधुरीले अझै पनि कुवा इनार ह्याण्डपम्पजस्ता स्रोतबाट खानेपानी प्रयोग गर्ने गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजकुमार चौधरीले बताएका थिए । उनका अनुसार जिल्लाका ८० प्रतिशत घरधुरीले ह्याण्डपम्प प्रयोग गर्ने र धाराको स्वच्छ पानी प्रयोग गर्नेहरू जिल्लामा १५ प्रतिशतमात्र रहेका छन् ।

जिल्लाका ९२ दशमलव ८६ प्रतिशत घरधुरीमा आधारभूतस्तरको खानेपानी पुगेको उनले बताए । उनले जिल्लाका केही स्थानमा आर्सेनिकको मात्रा भेटिएकोले त्यस्ता स्थानमा नयाँ प्रविधि प्रयोग गरिने समेत जानकारी दिए । जिल्लाका राधापुर, होलिया र टिटिहिरियामा खानेपानीमा आर्सेनिकको मात्र भेटिएकोले सो स्थानमा उच्च प्रविधि प्रयोग गरेर स्वच्छ खानेपानीको व्यवस्था गरिने भएको छ ।

गत वर्षदेखि तराई मधेस खानेपानी कार्यक्रम र उच्च प्रविधि युक्त खानेपानी कार्यक्रम गरी करिब ५५ वटा विभिन्न खालका योजना बाँकेमा सञ्चालनमा रहेका छन् । नेपालगन्ज, खजुरा, कोहलपुरलगायतका क्षेत्रभन्दा बाहिर पनि अहिले धाराको पानी उपभोक्तालाई वितरण गरिन थालिएको छ ।

जिल्लाका विभिन्न गाउँबाट समेत शुद्ध खानेपानी योजनाको निर्माणका लागि माग बढ्दै जान थालेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा स्वच्छ खानेपानीका लागि जिल्लाका विभिन्न स्थानमा करोडौंका लगानीमा खानेपानीका योजना निर्माण भइरहेका छन् । लाखौं लिटर अट्ने पानी ट्यांकी निर्माण हुने कार्य धमाधम भइरहेको छ ।

  • २० कार्तिक २०७७, बिहीबार प्रकाशित

  • Nabintech