दाङ, साउन १० — लुम्बिनी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले आजै पदबाट राजीनामा दिने तयारी गरेका छन्। एमाले–नेकपाबीच भएको नयाँ राजनीतिक सहमतिपछि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसँगै मन्त्रीहरूले पनि पद त्याग गर्ने भएका हुन्।
राजीनामा दिने तयारीमा रहेका मन्त्रीहरूमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना तथा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार रहेका छन्।
सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले आजै राजीनामा दिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी भएको जानकारी दिए। उनले भने, “आज नै मार्ग प्रशस्त गर्छौँ, समर्थन पनि फिर्ता हुन्छ, अब हामी प्रतिपक्षमा बस्ने हो।”
यस निर्णयसँगै लुम्बिनी प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरण बन्ने र सरकार पुनर्गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।










