बाँके\ हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा पानी परेको छ।
वाग्मती, प्रदेश एक, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भएको हो। उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।
आज दिउँसो पनि प्रदेश एक र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनदेखि नेपालमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव आजदेखि हट्ने र विस्तारै मौसम सफा हुँदै जाने महाशाखाले जनाएको छ। प्रदेश एक र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ।
आज दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा घाम लाग्ने महाशाखाले जनाएको छ।