बाँके\ चालू आर्थिक बर्षमा नेपालगन्ज नाकाबाट चिनी र चामल तथा चामलजन्य बस्तु आयातमा कमी आएको छ । चिनी र चामल आयातमा कमी आएपछि राजस्वमा समेत असर परेको छ ।
यो आवको ६ महिनामा तीन करोड ९४ लाख ९१ ह्जार ६ सय किलोग्राम चिनी तथा चिनीजन्य बस्तु आयात भएको छ । गत आवको सोही अवधिमा पाँच करोड ३८ लाख ४१ हजार २०२ किलोग्राम चिनी नेपालगन्ज नाकाबाट आयात भएको निमित्त प्रमुख भन्सार अधिकृत नवकुल शर्माले जानकारी दिए ।
नेपालगन्ज नाकाबाट चामल तथा चामलजन्य बस्तु आयातमा समेत कमी आएको छ । गत आवको पुस मसान्तसम्म आठ करोड ७५ लाख ५० हजार ७८२ किलोग्राम चामल तथा चामलजन्य बस्तु आयात भएको उनले बताए । यस आवको सोही अवधिमा सात करोड ९२ लाख ७८ हजार १९५ किलोग्राम मात्र चामल तथा चामलजन्य बस्तु आयात भएको छ ।
यसैवीच, नेपालगन्ज भन्सार कार्यालयले सरकारले दिएको लक्ष्यभन्दा कम राजस्व उठाएको छ । सरकारले चालू आर्थिक बर्षको ६ महिनामा १२ अर्व पाँच करोड ३८ लाख ६२ हजार रुपैँया राजस्व उठाउने लक्ष्य दिए पनि नेपालगन्ज भन्सार कार्यालयले चालू आवको ६ महिनामा ११ अर्व ८१ करोड ८४ लाख ९१ हजार रुपैँया राजस्व संकलन गरेको निमित्त प्रमुख भन्सार अधिकृत शर्माले जानकारी दिए ।
विगत ६ महिनामा ९८ दशमलव ०५ प्रतिशत राजस्व संकलन भएको बताए । कोरोनाका कारण देशमा उद्योग, कलकारखाना बन्द भएकोले कच्चा पदार्थ तथा मेसिनरी सामान आयातमा कमी आएकोले लक्ष्य अनुसारको राजस्व संकलन नभएको उनले दावी गरे ।