बाँके\ नेपाल कृषिप्रधान मुलुक हो। तर, स्वदेशमा उत्पादन हुने अधिकांश कृषि उपजले बजारको माग पूरा हुँदैन। भान्सामा सबैभन्दा बढी प्रयोग हुनेमध्येको आलु स्वदेशमै पर्याप्त उत्पादनको संभावना भए पनि ठूलो परिमाणमा आयात हुने गरेको छ।
भारत, बंगलादेश, अमेरिका र यूरोपेली मुलुकबाट समेत नेपालमा आलु भित्रिन्छ। वार्षिक करिब ८ अर्ब रुपैयाँभन्दा बढीको आलु आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। यसरी आउनेमध्ये बिउ, ताजा वा चिसो, सुकेको आलुको पिठो, गोली र फ्रेन्च फ्राईलगायत छन्।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६र७७ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालमा १८ देशबाट आलु आयात भएको छ। नेपालमा आउने आलुको सबैभन्दा बढी हिस्सा भारतले ओगटेको छ। त्यसपछि बढी बंगलादेशबाट भित्रिने गरेको छ।
विभागका अनुसार सवा तीन वर्षमा नेपालमा २३ अर्ब नौ करोड ७४ लाख ५३ हजार रुपैयाँको आलु आएको छ। जसमध्ये १७ अर्ब २८ करोड ४५ लाख ७२ हजारको आलु भारतबाट आयात भएको हो।
आर्थिक वर्ष २०७६र७७ मा ८ अर्ब ५३ करोड ३५ लाख १५ हजार रुपैयाँको आलु आयात भएको थियो। जसमा भारतबाट मात्रै ८ अर्ब १९ करोड ५९ लाख ४६ हजार रुपैंयाको आलु आयात भएको थियो। गत आर्थिक वर्ष ८ अर्ब ९३ करोड ६६ लाख २७ हजार रुपैंयाको आलु आयात भएको थियो। त्यसमा ८ अर्ब ५३ करोड ५४ लाख ४८ हजारको आलु भारतबाट आएको हो।
त्यस्तै चालु आर्थिक वर्षको पाँच महिनामा ५ अर्ब ६२ करोड ७३ लाख ११ हजार रुपैयाँको आलु आयात भएको छ। जसमा ५ अर्ब ५२ करोड १७ लाख ८ हजार रुपैयाँको आलु भारतबाट मात्रै आयात भएको छ। यो अवधिमा चीनबाट भने आलु आयात भएको छैन।
















