बाँके\ पछल्लो समय नेपाली बजारमा स्याउको आयात निरन्तर बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महीनामा मात्रै ३ अर्ब ८२ करोड ७२ लाख ६० हजार रुपैयाँको स्याउ आयात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष २३ प्रतिशतले स्याउको आयात बढेको छ ।
गत आर्थिक वर्ष २०७७/७८ को ६ महीनामा ३ अर्ब १० करोड ५८ लाख ७० हजार रुपैयाँको स्याउ आयात भएको थियो । नेपालले यो वर्ष चीन, भारत, टर्की, गिनी बिसाउलगायत ईन्डोनेशियाबाट समेत स्याउ आयात गरेको छ ।
सबैभन्दा धेरै स्याउ चीनबाट आयात भएको छ । चीनबाट मत्रै २ अर्ब ६८ करोड ४९ लाख ९०० रुपैयाँको स्याउ आयात हुँदा भारतबाट १ अर्ब १४ करोड ३९ लाख ७५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ । त्यस्तै टर्कीबाट २६ लाख २५ हजार रुपैयाँको र गिनिबिसाउबाट १ लाख ६१ हजार रुपैयाँको आयात भएको छ ।
अहिले स्थानिय बजारमा स्याउको मूल्य प्रतिकिलो न्यूनतम २५० देखि अधिकतम २८० रुपैयाँसम्म रहेको छ । स्वदेशी स्याउको सिजनमा भारतीय र चिनियाँ स्याउको मूल्य घट्ने गर्दछ ।