८ बैशाख २०८२, सोमबार

तिलोत्तमाको बहुउद्देश्यीय भ्यू टावर, ओलीले आज उद्घाटन गर्दै
  • न्युज मानसराेवर

बुटवल\ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा तिलोत्तमा बहुउद्देश्यीय टावर निर्माण भएको छ ।तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्यका साथ बहुउद्देश्यीय टावर निर्माण गरेको हो ।

वनवाटिका लुम्बिनी प्रदेशको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । टावरको मंगलबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

टावरमा होटल, रेष्टुरेन्ट, कफिशप, डिपार्टमेन्टल स्टोर, लाईब्रेरी, स्वीमिङपुल, अन्य विभिन्न सेवा केन्द्र तथा दूर दृश्यावलोकन सेवा समेत उपलब्ध हुनेछ ।

टावर सञ्चालनको लागि तिलोत्तमा नगरपालिकाले लिज करार प्रक्रिया अघि बढाएको छ । टावर सञ्चालनमा आएसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुको साथै नगरपालिकालाई नियमित आम्दानीको स्रोत समेत बन्नेछ ।

दश तले टावर १ सय ३४ फिट उचाइको छ । टावरको २०७४ चैत १५ गते नेपाली कांग्रेस लुम्बिनी प्रदेशका तत्कालीन संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले शिलान्यास गरेका थिए । काठमाडौंको धरहरापछिको अग्लो र सुविधा सम्पन्न भनिएको टावरको भुईँ तला ३५ सय ९५ वर्ग फिट क्षेत्रफलमा रहेको छ । टावर २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको छ ।

९ करोडको लागतमा टावर निर्माण भएको र बाँकी संरचना निर्माणको क्रममा रहेको नगरपालिकाले जनाएको छ ।

लिफ्ट सुविधा सहित बनेको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्ट स्टोर, अफिस रुम, एटेज ट्वाइलेट रुम बास मिल्ने गरी बातानुकुलित कोठा, लाइब्रेरी लगायतका संरचनाहरू बनाइएको छ ।

टावरसँगै दुई बिगाहा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू निर्माणको काम धमाधम अघि बढेको छ । टावरको उत्तरतर्फ स्विमिङ पुल, अगाडि म्युजिकल फाउन्डेस निर्माण गरिएको छ ।

त्यस्तै त्यहाँ चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि सुरु भइसकेको छ नगरपालिकाका इञ्जिनियर प्रदीप वनले बताए ।

बाँकी संरचना निर्माण पनि अबको २ वर्षमा सम्पन्न हुने उनको भनाइ छ । टावरको सबैभन्दा माथिल्लो तलाबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म सजिलै देख्न सकिने छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका सहरहरू देख्न सकिने जनाइएको छ ।

तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले ‘तिलोत्तमा बहुउद्देश्यीय टावर’ नगरपालिकाको गौरव र गहना हुने बताउँदै यो नगरपालिकाको आम्दानीको एउटा महत्वपूर्ण स्रोत पनि हुने बताए । नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् ।

  • १५ चैत्र २०७८, मंगलवार प्रकाशित

  • Nabintech