बाँके\ सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाउने निर्णय गरेको छ ।डिजेल र पेट्रोलको मूल्य बढेकाले वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा भाडा बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले बताएको छ ।
इन्धनको बजार मूल्य ५ प्रतिशतभन्दा बढी वृद्धि भएमा भाडा बढाउने विधि तय गरिएको छ ।
यसअघि सरकारले गत चैत्र १७ गते सार्वजनिक सवारीसाधनको भाडा समायोजन गर्ने निर्णय गर्दै भाडा बढाएको थियो । यसअघि सवारी भाडा बढाउँदाको तुलनामा अहिले इन्धनमा ६.५३ प्रतिशत मूल्यवृद्धि भएकाले सार्वजनिक सवारीको भाडा बढाउनुपरेको विभागले बताएको छ । विभागले प्रकाशन गरेको सूचनाअनुसार यात्रुबाहक सवारीमा २.१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ३ प्रतिशत भाडा बढाइएको छ ।