बुटवल\ लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कूलप्रसाद केसीले सरकार र जनता बीचमा पुलको काम गर्ने भएकाले सञ्चार क्षेत्र सधैं मर्यादित हुनुपर्ने बताएका छन् ।मुख्यमन्त्री केसीले जनताको जीवनलाई सुमधुर र समृद्ध बनाउन सञ्चार क्षेत्रको निकै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चार कर्मलाई मर्यादित बनाउन आग्रह गरे ।
लुम्बिनी प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मान कार्यक्रमलाई मंगलवार बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री केसीले सञ्चारमाध्यम र सञ्चारकर्मीले समाज परिवर्तनमा योगदान पुर्याउन आवश्यक रहेको बताए । प्रदेश सरकारले पत्रकारलाई सम्मान गरी लोकप्रियता कमाउनुभन्दा पनि पत्रकारले गरेको कामलाई सम्मान गरेको बताउँदै उनले आगामी दिनमा पनि लुम्बिनी प्रदेश सरकारका जनमुखी कार्यलाई जनतासमक्ष पुर्याइदिन आग्रह गरे ।
कार्यक्रममा विन्दुकुमार चौहान, खिमानन्द भट्टराई, सन्जु पौडेल, डिलाराम भुसाल र प्रेम विक सम्मानित भएका छन् । सो अवसरमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले संघीयतालाई बलियो बनाउने गरी लाग्न सञ्चार क्षेत्रलाई अनुरोध गरेका छन् ।