९ बैशाख २०८२, मंगलवार

राप्ती हाइड्रोको आईपीओ विक्री खुला
  • न्युज मानसराेवर

बाँके\राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले  आज (असार २९) देखि साधारण शेयर (आईपीओ) निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात् ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ भने बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सकिनेछ ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने समय साउन १ गतेसम्म रहेको छ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर बी रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा  सिद्धार्थ क्यापिटल लिमिटेड र सह–निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले रुकुम पूर्वी जिल्लामा ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । साउन १ गतेदेखि विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको निर्माण कार्य भईरहेको कम्पनीले जानकारी दिएको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्म कम्पनी रू. २ करोड २ लाखभन्दा बढी संचित नाफामा रहेको छ ।  सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. शून्य दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ३५ छ ।

  • २९ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech