मनाङ\ मनाङबाट यसवर्ष २३ करोड ५५ लाख रुपैयाँ बराबरको यार्चागुम्बु बिक्री भएको छ। मनाङमा बाह्य र स्थानीयले संकलन गरेर व्यापारीलाई यार्चागुम्बु बिक्री गरेका हुन्। आर्थिक वर्ष ०७८/७९ मा मनाङमा व्यापारीले सरकारलाई प्रतिकिलो ३१ हजार रुपैयाँका दरले राजस्व बुझाउँछन्। यार्साबाट मात्रै ३६ लाख २९ हजार ५ सय १ रुपैयाँ राजस्व संकलन भएको छ।
संकलकले व्यापारीलाई प्रतिकिलो १६ देखि ३० लाख रुपैयाँसम्म बिक्री गर्छन्। व्यापारी यार्सागुम्बा संकलनस्थलमै पुग्छन्। धादिङको रि-गाउँका एक्का तामाङकाअनुसार व्यापारीले प्रतियार्सा ४ सयदेखि ५ सय रुपैयाँमा संकलनस्थलमै किन्छन्। एक किलोमा ठूलो मात्राका ३ हजार २ सय हाराहारीका यार्सा अट्ने उनले बताए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले काठमाडौँ लगेर चिनियाँ व्यापारीलाई प्रतिकिलो यार्सा ५० लाख रुपैयाँसम्म बिक्री गर्ने जानकारी आएको बताए। एक्यापद्वारा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिले सेवा दस्तुरबापत प्रतिकिलो यार्साको १० हजार रुपैयाँ लिने गरेका हुन्। सरकारलाई तिर्ने राजस्व भने उनीहरूले एक्यापमार्फत डिभिजन वन कार्यालयमा जम्मा गर्छन्।