काठमाडौँ\प्रेस चौतारी नेपालले राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झालाई राजनीतिक पूर्वाग्रहका आधारमा कर्मचारी सरुवा तथा निश्काशन नगर्न ध्यानाकर्षण पत्र बुझाएको छ । संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा गएको टोलीले आज रासस केन्द्रीय कार्यालयमा अध्यक्ष झालाई सो पत्र बुझाएको हो ।
प्रेस चौतारीको ज्ञापनपत्रमा राससमा पछिल्लो समयमा नयाँ व्यवस्थापन आएसँगै राजनीतिक पूर्वाग्रह राखेर कार्यरत श्रमजीवी पत्रकारलाई खासगरी प्रेस चौतारी नेपाल निकट पत्रकारलाई दुःख दिने काम भएको भन्दै तत्काल रोक्न माग गरिएको छ । ‘प्रेस चौतारी निकटका साथीहरुलाई दुःख दिने नियतले एकाएक सरुवा गर्ने, कार्यरत अस्थायी सेवाका कर्मचारीलाई लोकसेवाको विज्ञापनका नाममा जागिरबाट हटाउने त्रास सृजना गरी आफ्नो पक्षको भर्तीको थालनी गर्ने, समाचार सम्प्रेषणमा सन्तुलत कायम नगर्ने र प्रमुख प्रतिपक्षका गतिविधिलाई न्यून महत्व दिने जस्ता हर्कतहरु देखिएको छ,’ ध्यानाकर्षणपत्रमा भनिएको छ ।
यसैगरी राससको उपल्लो तहका कर्मचारीले प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताविरुद्ध तथानाम गाली गर्दै लेख रचना प्रकाशन गर्ने जस्ता अमर्यादित कार्यहरु भएको भन्दै आचारसंहिता पालनातफृ गम्भीर ध्यानाकर्षण गराइएको छ । ‘नयाँ स्थानीय समाचारदाता नियुक्तिमा आमरुपमा एकलौटी गरिएको र स्थानीय समाचारदाता नवीकरण गर्दा चौतारी निकटका केही साथीहरुलाई अझै नवीकरण रोकिएको समेत पाइनुलाई हाम्रो संगठनले गम्भीरताका साथ लिएको छ ।
राससलाई विश्वसनीय र भरपर्दाे समाचार समितिका रुपमा विकसित गरी कार्यरत पत्रकार र कर्मचारीबाट काम लिने वातारण सृजना गर्नुपर्नेमा उल्टै आन्तरिक समस्या उत्पन्न हुने गरी राजनीतिक पूर्वाग्रह साँधेर सुरु गरिएका यस्ता गतिविधि निन्नदीय र आपत्तिजनक छन,’ पत्रमा भनिएको छ ।प्रेस चौतारीले पत्रमा लोकतान्त्रिक ब्यवस्थाको अनुभुति नै नहुने गरी काम गरे कडा प्रतिवाद गर्ने चेतावनी पनि दिएको छ । ‘लोकतान्त्रिक संस्कार र व्यावसायिकतामा विश्वास गर्ने हाम्रो संस्था प्रेस चौतारी नेपाल सकेसम्म यस्ता समस्यालाई सहमति, सहकार्य र सहअस्तित्वका आधारमा संवादका माध्यमबाट छिटो समाधान होस भन्ने चाहान्छ ।
साथै निरकुंश शैलीमा राससमा आतंक मच्याउने काम बन्द नभएमा हामी कडा विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनीसमेत दिन चाहान्छौं,’ अध्यक्ष बस्नेतले हस्ताक्षर गरी बुझाउनु भएको पत्रमा भनिएको छ । राससले केही साता यता काठमाडौं बाहिर जिल्लामा कार्यरत पत्रकारलाई छानीछानी केन्द्रीय कार्यालय तान्ने र नविकरणमा भेदभाव गरेपछि प्रेस चौतारीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
प्रेस चौतारीको टोलीसँग अध्यक्ष झाले आफू कुनै पनि आग्रह वा पूर्वागहका आधारमा नचल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले रासस सुधारका लागि आफूक्रियाशिल रहेको भन्दै कुनै पनि श्रमजीवि पत्रकारको जागिर नखाने र दुःख पनि नदिने प्रतिवद्धता पनि जनाउनु भएको छ ।