१५ पुष २०८१, सोमबार

सीजी पोलिटेक्निकलबाट तालिम लिँदै युवा युवती
  • न्युज मानसराेवर

नवलपरासी\चौधरी ग्रुपको सिपमूलक तालिम सञ्‍चालन भएपछिस्थानीय युवाहरूको दैनिकीमा परिवर्तनसँगै ठूलो संख्यामा रोजगारी सिर्जना भएको छ। पूर्वीनवलपरासीको देचवुली नगरपालिका वडा नम्बर दुईमा रहेको चौधरी उद्योग ग्राम परिसरमा ०६६ सालमा सुरु गरिएको सिप प्रशिक्षण तालिम सञ्‍चालन भएसँगै सिंगो नवलपुर र यसबाहेकका अन्य जिल्लाका युवा युवतीहरूले पनि यस तालिममा सहभागी भएर सिप आर्जन र सिकेका सिपलाई व्यवहारमा उतारी आफ्नो दैनिकी चलाइ रहेका छन्।

०६६ सालमा मेकानिकलबाट सुरु गरेको सिपमूलक तालिम ०६७ सालमा सीटिइभिटीसँग समन्वय गरी सीटिइभिटी कै मान्यताका अनुरूप सीजी पोलीटेक्निकल सञ्‍चालन गरिएको हो। उद्योग परिसरको छुट्टै भवनमा हुने तालिममा इलेकट्रोनिक,उद्योगमा सञ्‍चालन हुने विभिन्न हेभी मेसिन मर्मतलगायतका धेरै प्रकारका विशेष गरी उद्योगसँग सम्बन्धित सिप प्रशिक्षण प्रदान गर्दे आएको छ।

सीजी पोलीटेक्निकलको मुख्य उद्देश्य उद्योग र आफूलाई दैनिक जीवनमा आवश्यक पर्ने सामान्य सीको विकास र स्वदेश तथा विदेशमा रहेका ठुला उद्योगमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु नै हो।

‘हाम्रो मुख्य उद्देश्य भन्नु नै उद्योगका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नु हो,’ पोलिटेक्निकल तालिमका प्रिन्सिपल शिवहरि ढकालले भने।

ढकालकाअनुसार चौधरी उद्योग ग्राममा नै सञ्‍चालित तालिममा सहभागी विद्यार्थीहरूलाई प्राविधिक विषयमा आवश्यक प्रयोगशाला, औजारहरू पर्याप्तमात्रामा उपलब्ध गराइएको बताउँछन्।

‘तालिममा सहभागी हुन आउने विद्यार्थीहरूलाई आवश्यक सबै औजार र सिप विकासका लागि आवश्यक पर्ने शिक्षक देखि प्रयोगात्मकका लागि आवश्यक पर्ने सबै विषय वस्तुहरू हामी नै दिन्छौ,’ प्रिन्सिपल ढकालले भने।

बाह्र वर्ष अघिदेखि सञ्‍चालन हुँदै आएको उक्त सिप विकास तालिममा सहभागी विद्यार्थीहरूका लागि ६ महिनासम्म सिप सिकाइन्छ।

सिटीइभिटी र चौधरीको लोगो अन्तर्राष्ट्रियस्तरमा परिचित भएको हुँदा हरेक वर्ष प्रदान गरिने तालिममा विद्यार्थीहरूको संख्या बढ्ने गरेको प्रिन्सिपल ढकाल बताउँछन्।

‘यहाँ तालिम लिन आउने विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा सजिलै रोजगार पाउने गरेका छन्। चौधरी ग्रुपको लोगो र सिटीइभिटी मान्यता भएकै कारण तालिम लिन आउनेहरूले सहज महसुस गरेका छन्,’ प्रिन्सिपल ढकालले भने। उनकाअनुसार आर्थिक वर्ष ०६६/६७ देखि हालसम्म दुई हजार २ सय ६३ जनाले तालिम लिई सकेका छन्।

सीजी पोलिटेक्निकलको तालिममा सहभागी हुने विद्यार्थीहरूले विशेष त सिपमूलक तालिम नै सिक्ने गरेका छन्। जसमा क्षमता विकास, विकासात्मक, पूर्वाधार विकास, अनुसन्धान विकास, बजार विकास र व्यापार विकासलगायतका विषयमा तालिम प्रदान गर्ने गरेको पोलिटेक्निकल सिप प्रदान गर्ने टोलीले जनाएको छ।

तालिमपछि पन्ध्र सय युवा युवती स्वरोजगार

सीजी पोलिटेक्निकलबाट सिप सिकेका दुई सय जना हाल सोही चौधरी उद्योगमा कार्यरत छन्। चौधरी ग्रुपकै सिपमूलक तालिम केन्द्रमा सिप लिएकाहरू अहिले दुम्कौलीस्थित चौधरी उद्योग ग्राममा दुई सय, दुम्कीबासस्थित सीजी सिमेन्ट उद्योगमा र अन्य उद्योगमा सजिलै रोजगार गरी आफ्नो दैनिकी चलाउँदै आएका छन्।

देवचुली नगरपालिका २ का दिनेश पौडेलले ०७१ सालमा मेशिन सञ्‍चालसम्बन्धी सिप सोही सीजी पोलिटेक्निकलमा सिके सिप सिकेको करिब एक वर्षमा उनले सोही चौधरी उद्योगको कार्टुन उत्पादन गर्ने क्षेत्रमा रोजगार पाए र अहिले सोही रोजगारबाट मासिक ३५ हजारसम्म आम्दानी गरेका छन्।

‘०७१ सालमा चौधरी उद्योगकै परिसरमा सिप सिके, सिप सिकेपछि मेशिन चलाउन सकियो अहिले सोही सिपअनुसारको काम पाएको छु,’ सिप सिकेर स्वरोजगार बनेका दिनेश पौडेलले भने। उनीमात्र होइन उनीजस्ता धेरै विद्यार्थीहरू सिप सिकेर देश र विदेशका विभिन्न प्रतिष्ठित उद्योगहरूमा रोजगार गरी आर्थिक आयआर्जन गर्दै आएका छन्।

आगामी दिनमा थप कक्षा सञ्‍चालन गर्ने योजना

आगामी दिनमा युवायुवतीका लागि अहिले आवश्यक पर्ने र बढी माग भएको सिपअन्तर्गत हाउसकिपिंग, मोबाइल, कम्प्युटर मर्मत, मोटर साइकल मर्मत, वेटरलगायतका तालिमहरू प्रदान गर्ने योजना रहेको छ। यस्तै सीजी पोलिटेक्निकलले आयुर्वेद, योगालगायतका विषयमा पनि तालिम प्रदान गर्ने बताइएको छ।

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech