बुटवल\बुटवलमा शुक्रबार विद्यालय गएका तीन विद्यार्थी वेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समिर लम्साल तथा १४ वर्षका प्रदीप पन्थी शुक्रबार विहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्कबिहीन भएका हुन् ।
नबिन औद्योगिक मावि कक्षा ९ मा पढ्ने दुई जना र नहरपुर मावि कक्षा ८ मा पढ्ने १ जना सँगै घरबाट निस्केपनि सम्पर्कबिहीन भएको परिवारले जनाएको छ । सागर पौडेलका मामा राजु पन्थीले बिहान झोला बोकेर विद्यालय गएपनि कतै सम्पर्क नभएकाले सबैतिर खोजबिन गरिरहेको र प्रहरीमा पनि निवेदन दिएको बताए ।
वेपत्तामध्ये समिर लम्सालले शनिबार दिउसो २ बजे आफन्तलाई फेसबुक म्यासेनजरमा खबर पठाउँदै आफूहरुलाई अज्ञातस्थलमा राखिएको जानकारी दिएका छन् । उनको आफूहरुलाई अचेत बनाएर ल्याएको र २ बजेमात्रै होस खुलेको म्यासेजमा लेखेपनि त्यसपछि कुनै सम्पर्क भएको छैन ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले परिवारको निवेदन अनुसार सबैतिर खोजविन भएको तर शनिबार भएकाले कलडिटेल र अन्य प्रविधिबाट हेर्न नसकिएको जानकारी दिए ।
उनले अभिभावक र विद्यालय प्रशासन सबैलाइृ सचेत रहन आग्रह गरेका छन् ।