७ पुष २०८१, आईतवार

लगानी सम्मेलन फलदायी बनाउन लुम्बिनी प्रदेशका जिल्लामा पूर्वअभ्यास शुरू
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले लगानी सम्मेलनलाई फलदायी बनाउन प्रदेशका जिल्लामा लगानी संवाद शुरू गरेको छ ।लगानी सम्मेलनको पूर्वअभ्यासका रूपमा जिल्लाका उद्योगी व्यवसायीका सुझाव संकलनका लागि संवाद र छलफल शुरू गरिएको लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बताए ।

नेपालगञ्जमा  आयोजित लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री खड्काले लगानी सम्मेलन प्रचारवाजीका लागि मात्र नभई प्रदेशमा उद्योगधन्दा सञ्चालनमा रहेको समस्या पहिचान गरी उद्यमशीलता र रोजगार बढाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ गर्न लागिएको उल्लेख गरे  ।

मन्त्री खड्काले संघीय र स्थानीय सरकारसँग समन्वय गर्दै प्रदेशलाई आत्मनिर्भर बनाउन प्रदेश सरकारले पर्यटन, कृषि र उद्योगलाई प्राथमिकता दिई नेपालभित्रै नेपालीले रोजगारी पाउने वातावरण बनाउन काम गरिरहेको बताए ।

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले प्रदेशका सबै जिल्लाका उद्योगी व्यवसायी समेटिने गरी विभिन्न चरणमा लगानी संवाद गरेपश्चात् लगानी सम्मेलन गर्ने तयारी रहेको बताए । लगानी सम्मेलनमा मझौला र कुटिर उद्योगलाई प्राथमिकता दिइने उनको भनाइ
छ ।
मन्त्रालयका सचिव नेत्रप्रसाद सुवेदीले चार/पाँच वटा परियोजनामा लगानी भित्रिने गरी पुस वा माघतिर लुम्बिनी लगानी सम्मेलन गर्ने तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले उद्योगी व्यवसायीले राज्यलाई कर तिरेर पनि सेवा पाउन नसकेको गुनासो गर्दै उद्योगका लागि विद्युत् शुल्क र कर्जामा सहुलियत हुनुपर्ने बताए ।

कार्यक्रममा लगानी बोर्डका पूर्वकार्यकारी प्रमुख राजेश पन्त, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, विभिन्न जिल्लाका उद्योगी व्यवसायीले लगानी सम्मेलनबारे बोलेका थिए ।

  • ३१ भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech