बाँके\चालु आर्थिक वर्षको तीन महिनामा नेपालले कुल ४ खर्ब ४२ अर्ब ८१ करोडको वैदेशिक व्यापार गरेको छ।भन्सार विभागका अनुसार साउन–असोजको अवधिमा नेपालले १२७ देशसँग व्यापार गरेको हो। यसमध्ये २३ देशसँग मात्रै नेपालको व्यापार फाइदामा छ बाँकी १०४ देशसँगको व्यापारमा नेपाललाई घाटा छ।
नेपालले व्यापार गरेका ठूला देशमध्ये अमेरिकासँग फाइदामा छ। भन्सार विभागका अनुसार चालु आवको तीन महिनामा अमेरिकासँँगको व्यापारमा नेपाललाई ४६ करोड रुपैयाँ फाइदा भएको छ।
यो अवधिमा नेपालले अमेरिकाबाट ४ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। सोही समयमा ५ अर्ब १६ करोड मूल्य बराबरका वस्तु तथा सेवा निर्यात गरेको विभागले जनाएको छ।
नर्वे, डेनमार्कलगायत देशसँगको व्यापारमा पनि नेपाललाई फाइदा छ। चालु आवको तीन महिनामा नेपाललाई डेनमार्कसँग २५ करोड ६८ लाख र नर्वेसँगको व्यापारमा ४६ करोड फाइदा भएको छ।
बाँकी फाइदा भएका देशसँग चाहिँ नेपालको व्यापार नगन्य छ। अंगोला, बोलिभिया, कंगो, क्रोयसिया, इस्टोनिया, लाटभिया, लेबनान, माल्टा, मरिससलगायत देशसँग नेपालको व्यापार फाइदामा छ। तर, यि देशसँगको व्यापार फाइदा करोडको हाराहारीमा पनि छैन।