१० बैशाख २०८२, बुधबार

रुकुमबाट १८ सय टन अदुवा निकासी
  • न्युज मानसराेवर

रुकुम \रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेपछि उत्पादन समेत बढेको छ । त्रिवेणी–४ पोखरीका शेरबहादुर खड्काले अदुवा खरीद गर्न व्यापारी बारीमै आउने गरेको बताए । व्यापारीहरूले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममै व्यस्तता बढेको उनको भनाइ छ ।

मकैखेती छाडेर अदुवाखेती गर्न थालेका खड्काले आफ्नो बारीमा २० क्विन्टल अदुवाको बीउ लगाएकोमा अहिलेसम्म ८० क्विन्टल अदुवा निकालेको बताए । अदुवाखेती गर्न तुलनात्मक रूपमा सजिलो हुने र मूल्य समेत बढी पाइने भएकाले धेरै किसानले मकैखेती छाडेको उनको भनाइ छ ।

पोखरी गाउँमा मात्रै ३२ परिवारले व्यावसायिक अदुवाखेती गरिरहेका छन् । व्यापारीहरूले किसानको अदुवा प्रतिक्विन्टल चार हजार रुपैयाँसम्ममा खरीद गरेका छन् । गाउँमा पुगेको सडकका कारण व्यापारीहरू ट्र्याक्टर लिएर अदुवा खरीद गर्न आउने गरेका छन् । यहाँका किसान अदुवा बेचेर एक सिजनमा करीब पाँच लाख रुपैयाँसम्म आम्दानी गर्छन् ।

कृषि विकास कार्यालय रुकुमपश्चिमका निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले यस सिजनमा हालसम्म करीब एक हजार आठ सय टन अदुवा जिल्ला बाहिर गएको जानकारी दिए । उनका अनुसार प्रतिकिलो औसत ४० रुपैयाँमा अदुवा विक्री भइरहेको छ । कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा त्रिवेणी गाउँपालिकामा मात्र १८० हेक्टर क्षेत्रफल जमीनमा अदुवा लगाइएको छ ।

  • १९ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech