१७ असार २०८२, मंगलवार

जाडो बढेसँगै बाँकेमा रुघाखोकी र ज्वरोका विरामी बढे
  • न्युज मानसराेवर

बाँके \जाडो बढेसँगै बाँकेमा मौसमी फ्लु, रुघाखोकी, कोल्ड डायरिया र निमोनियाका बिरामीहरु बढ्दै गएको विभिन्न अस्पतालले जनाएका छन् । केहीदिन यता चिसो बढ्न थालेपछि ज्वरो, रुघाखोकी, घाँटीको खसखसलगायत लक्षण भएका बिरामीहरू अस्पतालमा आउने क्रम बढेको भेरी अस्पतालका सुचना अधिकारी डा. संकेत रिसालले बताए ।

रुघाखोकी र मौसमी फ्लुलाई सामान्य ठानेर बेवास्ता गर्दा निमोनियासमेत भएर अस्पताल आउने पनि बढ्दै गएको रिसालले बताएका छन।  बालबालिका र बृद्धबृद्धामा बढी निमोनिया देखिएको डा. रिसालको भनाई छ ।

जाडो बढेसँगै अहिले भेरी अस्पतालमा मात्रै दैनिक दुई सय देखि तीन सय भन्दा बढीको संख्यामा रुघाखोकी र ज्वरोका बिरामीहरु उपचारका लागि पुगिरहेको अस्पतालले जनाएको छ ।

दुई–चार दिन पछिसम्म पनि रुघाखोकी र ज्वरो ठिक नभए उपचारका लागि अस्पताल पुग्न डा.रिसालको सुझाव छ । रिजालका अनुसार चार पाँच दिनसम्म पनि रुघाखोकी र ज्वरो निको नभए स्वास्थ्यमा जटिल समस्या देखिने भएकाले तुरुन्त स्वास्थ्य जाँच गराउनु पर्छ ।

रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही गर्न नहुने रिजालले बताए । यस्तै नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालमा पनि हाल आएर मौसमी फ्लुका बिरामी आउने क्रम बढेको अस्पतालका सह निर्देशक डा रोमन किदवाईले बताए । उनले   चिसो बढेसँगै रुघाखोकी, ज्वरो, निमोनिया र छालाका बिरामीहरु बढेको बताए । शिक्षण अस्पताल नेपालगञ्जमा मात्रै दैनिक दुई सय भन्दा बढी रुघाखोकी र ज्वरोका बिरामी पुग्ने गरेको सह निर्देशक डा.किदवाईले बताएका छन।

यसैगरि नेपालगञ्जस्थित विभिन्न निजी अस्पताल र क्लिनिकहरुमा पनि सयौंको संख्यामा रुघाखोकीका बिरामीहरु पुग्ने गरेका छन् । मौसम परिवर्तन र जाडोले सबैभन्दा बढी प्रभाव बालबालिकालाई परेको निजि क्लिनिक सञ्चालन गर्नु भएका वरिष्ठ बालविशेषज्ञ डा। शकील अहमदले बताएका छन।

उहाँले गत एकसाता यता आफ्नो क्लिनिकमा आउने अधिकांश बालबालिका रुघाखोकी, ज्वरो, निमोनिया लगायतबाट ग्रस्त भएर आउने गरेको बताए । बालबालिकालाई जाडो मौसममा सबैभन्दा बढी सुरक्षित राख्न सुझाव दिंदै उहाँले सामान्य रुघाखोकी लागेपनि तत्काल चिकित्सकलाई जचाउँन आग्रह समेत गरे ।

मौसमी फ्लु र रुघाखोकीको संक्रमणबाट जोगिन मास्क लगाउनुका साथै सरसफाइ र चिसोबाट बच्नुपर्ने चिकित्सकहरुको सुझाव छ । चिकित्सकले न्यानो कपडा लगाउन, मन तातो पानी र झोलिलो पदार्थ खान, हरियो सागसब्जी र फलफूल खान समेत जोड दिएका छन् ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech