१८ बैशाख २०८१, मंगलवार

यौनजन्य दुर्व्यवहार विरुद्ध बाँके प्रहरीको बिशेष अभियान
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  सडक दुर्घटना न्यूनीकरण, अपराध, खोला नदी दोहन, चोरी पैठारी, तस्करी, मानव बेचबिखन, सिमामा हुने विभिन्न अपराधिक क्रियाकलापहरु न्यूनीकरण तथा निस्तेज पार्ने अभियानका साथसाथै फरार अभियुक्त खोजी तथा पक्राउ सङ्गसङ्गै लागू औषध निस्तेज पार्ने महाअभियान अगाडि बढाएको बाँके प्रहरीले सोमबारदेखि जिल्लामा यौनजन्य दुर्व्यवहार विरुद्धको अर्को बिशेष अभियानको थालनी गरेको छ ।

सरोकारवालाहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रममार्फत नेपालगन्जमा सोमबार उक्त बिशेष अभियान जिल्लामा सुरुवात गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

प्रहरी उपरीक्षक रानाले घर, समाज, सार्वजनिक स्थल, सार्वजनिक सवारी साधन लगायतका स्थानहरुमा महिला तथा बालबालिकाहरु माथि हुने/गरीने यौनजन्य दुर्व्यवहार विरुद्ध बाँके प्रहरी कडा रुपले प्रस्तुत हुने बताए । उनले आफू माथि हुने यौनजन्य हिंसा तथा दुर्व्यवहार सहेर बस्न नहुने भन्दै त्यसका बिरुद्ध एकजुट भइ लाग्न आग्रह गरे । ‘हिंसा तथा दुर्व्यवहार सहेर बस्नु भनेको पिडकलाई प्रोत्साहन गर्नु हो, यौनजन्य दुर्ब्यवहार हुनासाथ प्रहरीलाई तुरुन्त खबर गर्नुहोस, प्रतिकार गर्नुहोस, हामी कारबाही गर्छौं ।’ – उनले भने ।

महिला तथा बालबालिकाहरु माथि हुने यौनजन्य दुर्व्यवहार कानूनद्वारा बर्जित अपराध भएता पनि कतिपयलाई सो सम्बन्धमा कानूनी ज्ञान नहुनु, कतिपयले डर, सामाजिक प्रतिष्ठा, लाज तथा असहजता महसुस गरी आफू माथि भैरहेको दुर्व्यवहार विरुद्ध कुनै कदम नचाल्दा तथा कुनै प्रतिक्रिया नजनाउँदा समाजमा त्यस किसिमका गतिविधिहरु गर्ने व्यक्तिहरुको अपराधिक मनोबल बढ्ने हुँदा त्यस्का बिरुद्ध सबैजना लागेर मात्र समाजबाट त्यस्तो प्रबृतिलाई हटाउन सकिने एसपी रानाले बताए ।

बिशेष अभियान अन्तर्गत ‘सेफेटी पिन क्याम्पेन’

सार्वजनिक यातायात प्रयोगकर्ताहरुलाई यौनजन्य दुर्व्यवहार विरुद्ध खुलेर आवाज उठाउन अभिप्रेरित गर्दै यौनजन्य दुर्व्यवहार गर्ने व्यक्तिलाई कानून वमोजिम कारबाही गर्न र सार्वजनिक यातायातलाई भयमुक्त, मर्यादित एवं यौनजन्य दुर्व्यवहारमुक्त बनाउने उदेश्यका साथ बाँके प्रहरीले सो सम्बन्धि सचेतनामुलक र नियन्त्रणात्मक बिशेष अभियानको रुपमा ‘सेफेटी पिन क्याम्पेन’ संचालन गरेको जनाएको छ ।

सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्ब्यबहारको न्यूनीकरण गरि व्यवस्थित, सुरक्षीत र मर्यादित साथै महिला तथा बालबालिका मैत्री सार्वजनिक यातायातको बाताबरण निर्माण गर्ने यस अभियानको लक्ष्य रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए ।

सार्वजनिक यातायातमा हुने यौनजन्य दुर्व्यवहार अपराध हो भन्ने आम नागरिकहरुमा जानकारी गराउनु, यौनजन्य दुर्ब्यवहारबाट पीडित तथा दुर्व्यवहार भएको देख्ने (साक्षी) लाई त्यस्ता गतिविधि विरुद्ध खुलेर आवाज उठाउन अभिप्रेरित गर्ने उदेश्य रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

यो बिशेष अभियान बाँके जिल्ला भित्र केन्द्रित रहि नेपालगन्ज र कोहलपुरमा सचेतनामुलक कार्यक्रम तथा स्टिङ्ग अप्रेसन संचालन गरिने उनले जानकारी दिए ।

कुनै पनि स्थानमा यौनजन्य हिंसा र दुर्व्यवहार भएमा तुरुन्त १००, ९८५८०९०११० र ९८५८०९०९५५ मा फोन गरी जानकारी गराउन तथा नजिकको प्रहरी कार्यालयमा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।

  • १३ पुष २०७७, सोमबार प्रकाशित

  • Nabintech