९ मंसिर २०८१, आईतवार

सम्भव छैन २०२३ मा दादुरा निवारण
  • न्युज मानसराेवर

बाँके\गत पुस १२ गते नेपालगञ्जमा १४ महिनाकी बालिकामा दादुरा देखियो। उनको घरमा भएका अन्य बालबालिकामा पनि दादुराको लक्षण देखिएको थियो। संयुक्त परिवारमा बस्ने उनको घरमा अन्य ११ जना बालबालिका थिए। लक्षण देखिएकाहरूको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा लगियो। परीक्षणका क्रममा ५ जनामा दादुरा पुष्टि भयो। त्यसपछि बाँकेमा दादुरा आउटब्रेक घोषणा गरियो।

नेपालगञ्जमा पहिलो दादुरा देखिएको एक महिना पुरा भएको छ। दादुरा महामारी बर्दियामा समेत फैलन सुरु भएको छ। बाँकेमा हालसम्म ३ सय २२ जनामा दादुरा संक्रमण पुष्टि भइसकेको छ भने बाँकेसँग सीमा जोडिएको बर्दिया जिल्लामा पनि दादुरा रुवेलाका बिरामी फेला परेका छन्। जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीका अनुसार गुलरिया नगरपालिका-२ मा एक जना र बढैयाताल गाँउपालिकामा चार जना, राजापुर नगरपालिकामा एक जना र बारबर्दिया नगरपालिकामा एक जना गरी जम्मा सात जनामा दादुरा रुवेला देखिएको छ। बिरामी सवैको स्वास्थ्यवस्था सामान्य रहेको छ। बिरामी मध्ये केहिको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको गिरीले बताए।

बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले प्रभावित वडामा आइतबारबाट खोप अभियान सञ्चालन गरिएको जानकारी दिए। अन्य स्थानमा बिरामीको पहिचान गर्ने काम भइरहेको उनको भनाइ छ। स्वास्थ्य कार्यालय बर्दियाका अनुसार केही दादुराको लक्षण देखिएकाको स्याम्पल संकलन गरिएको उनले बताए। दादुरा नियन्त्रका लागि पूर्वतयारी अवस्थामा नरहेका पालिका बिरामी देखिएपछि समस्या भएको छ। दादुराकै कारण बाँकेमा ३१ महिने बालकको मृत्यु भइसकेको छ।

सरकारले सन् २०२३ सम्मलाई दादुरालाई निवारण गर्ने लक्ष्य लिएको छ। तर, वर्षेनी दादुराका बिरामी भेटिँदा यो सम्भव देखिँदैन। दादुराका बिरामी यस वर्षमात्र भेटिएका होइनन्। गत वर्ष जाजरकोटमा दादुराका बिरामी भेटिएका थिए। नेपालले सन् २०१९ भित्र दादुरा निवारण गर्ने लक्ष्य लिए पनि दादुरा संक्रमण बढ्न थालेपछि निवाराणको लक्ष २०२३ मा सारिएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दादुरा निवारण प्रोटोकल अनुसार  कुनै पनि समुदायमा २८ दिनभित्र पाँच वा पाँचभन्दा बढी बिरामी देखापरेमा दादुरा महामारी घोषणा गरिन्छ।

बाँके र बर्दियामा दादुरा फैलिएपछि यो वर्ष पनि दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने जनस्वास्थ्यविद् एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन्। मरासिनीका अनुसार दादुरा निवारण हुनका लागि तीन वर्षसम्म दादुराको  कुनै पनि केस रिर्पोट भएको हुनुहुँदैन। सन् २०२३ सम्ममा दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने उनी बताउँछन्।

मरासिनीका अनुसार १५ वर्षभन्दा मुनिका बालबालिकालाई दादुराविरुद्धको खोपको दायरामा ल्याउनुपर्ने उनको धारणा छ। किनकि १५ वर्षभन्दा मुनिका बालबालिकालाई खोप दायरा नबढाए निवारण गर्न कठिन हुने उनको बुझाइ छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार बाँके र बर्दियामा दादुरा प्रकोपको रूपमा फैलिएकाले २०२३ मा निवारण गर्नु चुनौतीपूर्ण छ। अब दादुराको निवारणका लागि प्राविधिक र विज्ञसँग छलफल गर्नुपर्ने उनले बताए।

बाँके पूर्णखोप जिल्ला घोषणा हुने नेपालको ५९औं जिल्लामा पर्छ। दुई वर्षअघि २०७७ साल चैत ६ गते बाँकेलाई पूर्ण खोप सुनिश्चितता जिल्लाको रूपमा घोषणा गरिएको थियो। पूर्णखोप भन्नाले सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार लिनुपर्ने सम्पूर्ण खोप लिएको अवस्थालाई बुझिन्छ।

सम्बन्धित गाउँपालिका वा नगरपालिकामा १६ देखि २३ महिनाका बालबालिकाको सर्वेक्षण गर्दा सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार सम्पूर्ण खोप प्राप्त गरको पाइएमा उक्त स्थानलाई पूर्णखोप घोषणा गर्न सकिने पूर्णखोप सुनिश्चितता निर्देशिका २०७१ मा उल्लेख छ।

‘एकपटक पूर्णखोप जिल्ला सुनिश्चित गरेर पुग्दैन। यो वर्षेनी गर्नुपर्ने प्रक्रिया हो। यहाँ एक पटक गरेपछि पुरा भयो भनेर बेवास्ता गरिनुले यो अवस्था आएको हो,’ मरासिनी भन्छन्, ‘अभिभावकलाई पूर्णखोपको अवधारणाबारे बुझाउन नसक्ननै मुख्य कमजोरी हो। पूर्णखोप घोषणा भए पनि पनि  किन खोप लगाउनुपर्‍यो भन्ने अभिभावकको बुझाइले समस्या निम्त्यायो, यो अभिभावकलाई बुझाउन सरकार चुकेकै हो।’ यसले खोप सर्वेक्षणको प्रभावकारीतामाथि पनि प्रश्न उठेको उनले बताए।

स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठ पूर्णखोप सुनिश्चित भइसकेको जिल्लामा पनि पुन: दादुरा फैलनुमा आम मानिसमा खोपबारे चेतना नहनु र खोप लगाउन आनाकानी गर्नु प्रमुख कारण भएको बताउँछन्।

उनी भन्छन्, ‘अधिकांश अभिभावकमा चेतना नपुग्नु बालबालिकलाइ १४ हप्ताको खोप लगाईसकेपछि अर्को खोप लगाउन लामो समय अन्तर भएकाले ९ महिना र १५ महिनाको उमेरमा लगाउने पहिलो र दोस्रो दादुरा रुबेला खोपको मात्रा लिन छुटाउनु, दादुरा भएका अधिकांश बालबालिका भारतमा आउने जाने भएकाले खोप अभियानमाा छुट्नु लगाएतका कारणले बाँकेमा दादुरा फैलिएको हो।’

दादुरा बाहिरबाट नआएको समुदाय भित्र नै देखिएको छ। दादुरा एक वर्षदेखि तीन वर्षसम्म शून्यकै अवस्थाामा रहेमा दादुरा निवारण भनिन्छ। तर, अहिले दादुरा फैलिएकाले अब  २०२३ मा दादुरा निवारण गर्ने सरकारको लक्ष्य पुरा नहुने देखिएको हो।दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाइरसको कारणबाट हुन्छ। दादुरा पाँच वर्ष मुनिका बालबालिकामा बढी देखिन्छ। दादुराको विशेष उपचार छैन। यो अवस्थामा बिरामीमा देखा परेको लक्षणका आधारमा उपचार गरिन्छ। ज्वरोका लागि सिटामोल, पोषिलो खाने कुरा खुवाउने, रोग पत्ता लागेको पहिलो र दोस्रो दिन गरी दुई मात्रा भिटामिन ए क्याप्सुल खुवाउनु पर्ने चिकित्सकहरू बताउँछन्।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech