१८ बैशाख २०८१, मंगलवार

प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेटरलाई नगद प्रदान गर्ने लुम्बिनी सरकारको निर्णय
  • न्युज मानसराेवर

बुटवल\लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टिममा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सिनियर खेलाडीलाई एक लाख र जुनियर खेलाडीलाई ५० हजार नगद प्रदान गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री कार्यालय दाङमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ६ जना सिनियर खेलाडीलाई एक लाखका दरले र ५ जना जुनियर खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता खानेपानी, ग्रामीण तथा शहरी विकासमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

‘हालै सम्पन्न विश्वकप क्रिकेट लिग २ त्रिकोणात्मक सिरिजमा नेपाली सिनियर टोली विजेता बन्दै विश्वकपको क्वालियरमा छनोट भएकाले प्रदेशका खेलाडीको हौसला र सम्मानका लागि मुख्यमन्त्री लिला गिरीको प्रस्ताव अनुसार मन्त्रिपरिषद वैठकले सर्वसम्मत एक लाखका दरले रकम दिने निर्णय भएको हो’, प्रवक्ता आचार्यले भने, ‘जुनियर टिमका ५ जनालाई पनि ५० हजारका दरले रकम दिने निर्णय भएको छ ।’

सिनियर क्रिकेट टिममा कप्तान रोहित पौडेल नवलपरासी, कुशल मल्ल, कुशल भुर्तेल र मौसम ढकाल रुपन्देही, सोमपाल कामी गुल्मी र प्रतिश जीसी प्युठानका हुन् ।

यस्तै, जुनियर टिममा रुपन्देहीका देव खनाल, कपिलवस्तुका आकाश त्रिपाठी र दुर्गेश गुप्ता, बर्दियाका विकास केसी र अर्घाखांचीका उत्तम थापा रहेका छन् ।

  • ६ चैत्र २०७९, सोमबार प्रकाशित

  • Nabintech