७ भाद्र २०८२, शनिबार

जमुनाहा नाका ४८ घण्टाका लागि बन्द
  • न्युज मानसराेवर

बाँके\यहाँस्थित नेपाल–भारत जमुनाहा नाका ४८ घण्टाका लागि बन्द गरिएको छ । बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच र श्रवास्ती जिल्लामा बिहीबार हुने नगर पञ्चायतको निर्वाचनका लागि जमुनाहा नाकालाई मंगलबार बेलुकी ६ बजेदेखि पूर्ण रूपमा बन्द गरिएको छ ।

मंगलबार बेलुकी ६ बजेबाट बन्द गरिएको सीमा नाका बिहीबार बेलुका ६ बजेबाट पुनः सुचारु हुने जिल्ला प्रशासन कार्यालय बाँकेले
जनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले भारत उत्तर प्रदेशमा भइरहेको निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले दुवै देशका सुरक्षा अधिकारीबीच भएको समझदारी अनुसार ४८ घण्टाका लागि नाका बन्द गरिएको बताए ।

उनले सो अवधिमा अत्यावश्यक सेवाहरू एम्बुलेन्स, शव वाहन, दूध, तरकारी, माछा र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरूलाई आवागमन गर्न दिइएको बताए ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार नाका सिल गरेर सीमा क्षेत्रको दशगजा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेका छन् । खुला सिमानाका कारण अन्य नाकाहरूमा पनि विशेष निगरानी बढाइएको जनाइएको छ । यसैगरी, मंगलबार बेलुकाबाटै दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • २० बैशाख २०८०, बुधबार प्रकाशित

  • Nabintech