२१ असार २०८३, आईतवार

मानव सेवा आश्रमका लागि बाँकेमा मुठ्ठीदान अभियान
  • न्युज मानसराेवर

बाँके\सडकमा जीवनयापन गरिरहेका मानिसहरुको मानवोचित व्यवस्थापनका लागि गत वर्षदेखि नेपालगञ्जमा सुरु भएको मानव सेवा आश्रमलाई निरन्तरता दिन मुठ्ठीदान कार्यक्रम सुरु भएको छ ।

गतवर्ष बैशाख १ गतेदेखि भाडाको घरमा सञ्चालन भइरहेको आश्रममा प्राप्त हुने सहयोग दिनानुदिन घट्न थालेपछि आश्रमले नेपालगञ्जका पसल तथा घरमा मुठ्ठीदान सुरु गरेको मानवसेवा आश्रम नेपालगञ्ज  शाखाका संयोजक उर्विन सापकोटाले जानकारी   गराए ।

अभियानमा नगदसहित खाद्यान्न र कपडा पनि सङ्कलन भइरहेको छ । यो अभियान अन्तर्गत मानव सेवा आश्रमले नेपालगञ्जमा गरिरहेको कामको जानकारी पनि हुनेछ ।

आश्रम सञ्चालनमा आएपछि सहयोगी दाताहरुले जन्मदिन, विवाह बर्षगाँठ, संस्थाको बार्षिकोत्सव, ब्रतबन्ध, छोराछोरीको न्वारन, पास्नी, विभिन्न चाडपर्वमा खुसीयाली मनाउन साथै पितृहरुको सम्झना भोजन गराउन र स्वेच्छिक सहयोग गरिरहेको आश्रमले जनाएको छ ।

मानव सेवा आश्रमको जानकारीको अभाव वा आर्थिक सङ्कटका कारण सहयोगी दाताहरु घट्न थालेपछि आश्रम सञ्चालनमा कठिनाई नहोस् भनेर घर पसलमा मुठ्ठीदान संकलन गर्न सुरु गरेको मानवसेवा आश्रम नेपालगञ्जले जनाएको छ ।

मानवसेवा आश्रम नेपालगञ्ज शाखामा ५० भन्दा धेरै बेसहाराहरु आश्रित रहेका छन। संस्थाका अनुसार ५ जना महिला, र ४५ पुरुष छन। एक वर्षसहितका ३ बालबालिका र ८० बर्षीय ज्येष्ठ नागरिक समेत आश्रमको आश्रयमा रहेका छन।

आश्रममा रहेकामध्ये ४० जना मनोसामाजिक समस्याबाट ग्रसित रहेको र उनीहरुले नियमित औषधि सेवन गर्दैआएको संस्थाले जनाएको
छ । आश्रममा सडकपेटी र सार्वजनिक स्थलहरुमा अत्यन्तै कष्टपूर्ण, दयनीय एवं पीडादायी जीवनयापन गर्न विवश बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिक रुपमा कमजोर सहयोगापेक्षी सडकआश्रित मानिसहरुको उद्धार, पारिवारिक पुनरमिलन हुन नसकेकाको पालनपोषण, औषधोपचार र संरक्षण गर्दै आइरहेको छ ।

  • १ जेष्ठ २०८०, सोमबार प्रकाशित

  • Nabintech