८ मंसिर २०८१, शनिबार

बाँकेमा सिभिल इन्जिनियरिङ पढाउने पहिलो सामुदायीक विद्यालय कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर\बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालय जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने सामुदायीक विद्यालय हो । कोहलपुर नगरपालिका १२ चपरगौढीमा रहेको उक्त विद्यालयले बिभिन्न खाले अभावका बिच सामुदायिक विद्यालयहरू तर्फ डिप्लोमा ईन सिभिल इन्जिनियरिङ कक्षा सुरुवात गरेर आफ्नो छुट्टै पहिचान स्थापित गरीसकेको छ ।

भौतिक पूर्वाधार अभाव, जनशक्तिको अभावका बिच जिल्लामा पहिलो पटक बि.सं. २०७५ सालमा सामुदायिक विद्यालय तर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सुरुवात गरेको विद्यालयका प्रधानाध्यापक बिनोद लम्साल बताउँछन । उनले कक्षा कोठाको अभावमा सिभिलको कक्षा बिहान र नर्मल कक्षा १० बजे देखि सञ्चालन गरेर काम चलाएको सम्झन्छन् । उनले सिभिल तर्फको पहिलो ब्याज पास आउट भएको र अर्को पास आउट हुने चरणमा रहेको जानकारी दिए ।

पास आउट भएका मध्ये आधिकांश विद्यार्थी कुनै न कुनै काममा लागीसकेको उनले बताए । जिल्लाको नमुना र प्राविधिक धारको विद्यालय बनाउने सोच, स्थानीय राजनैतिक दल र समाजसेवीको साथ र समर्थनमा विद्यालयले सफलता पूर्वक डिप्लोमा ईन सिभिल इन्जिनियरिङ र अर्को वर्ष देखि डिप्लोमा ईन जियो मेट्रिक्स (नापी सर्वेक्षक) कक्षा पनि सञ्चालन गर्दै आएको लम्सालको भनाई छ । लम्सालले हाल विद्यालयले प्रि डिप्लोमा ईन सिभिल इन्जिनियरिङ १८ महिने पनि सञ्चालन गदै आएको बताए ।

कुनै प्राविधिक कक्षा सञ्चालन गर्ने भन्ने छलफलका क्रममा बढि माग भएको र कक्षा सञ्चालनमा पनि सहज हुने ठानेर सिभिल कोर्ष रोजिएको उनको भनाई छ । विद्यार्थीको माग अनुसार फेरी नापी पर्यवेक्षकको पढाई पनि सुरुवात गरिएको उनको भनाई छ । प्राविधिक धार सुरुवात गर्न बाँके क्षेत्र नं. १ का निवर्तमान सांसद एवं माओवादी केन्द्रका नेता महेश्वर जंग गहतराज (अथक)ले ठुलो हौसला थपेको लम्साल सम्झन्छन् । भवनको अभाव भईरहेका बेला अथकको संसद् विकास कोषबाट २ पटक गरि ७० लाख रुपैयाँ सहयोगमा ६ कोठे भवन बनाइएको उनले बताए ।

हाल विद्यालयसँग प्राविधिक कक्षा सञ्चालनका लागी १२ कोठे अलग्गै ब्लक बनाइएको छ । हाल प्राविधिक कक्षहरू सञ्चालनमा कुनै कठिनाइ नभएको उनी बताउँछन । प्राविधिक कक्षाका लागी ३ वटै कोर्सहरूमा प्रतिवर्ष ४८/४८ जना विद्यार्थी भर्ना लिइने गरेको लम्सालको भनाई छ । अभिभावकहरूको उत्साहमा प्राविधिक धार सुरुवात गरेको भएपनि स्थानीय विद्यार्थीहरूको सहभागिता भने कम छ । कक्षाहरूमा मुस्किलले ४/५ जना स्थानीय विद्यार्थी हुने गरेको उनी बताउँछन । सिभिलका कक्षाहरूमा प्रदेश नं. ५, ६ र ७ का पहाडी जिल्लाहरूबाट विद्यार्थी आउने गरेको लम्सालले सुनाए ।

नापी सर्वेक्षक पढ्का लागी भने जनकपुर देखी पश्चिम तराई मधेस क्षेत्रका विद्यार्थी आउने गरेको उनको भनाई छ । पर्यवेक्षकको माग अत्याधिक रहेको उनको भनाई छ । कतिपय अवस्थामा प्राविधिक धारको पढाईका लागी प्रशिक्षक वा शिक्षक पाउनै मुस्किल हुने गरेको उनको अनुभव छ । उनले बाहिर जिल्ला बाट आउने शिक्षक वा प्रशिक्षक ६ महिना बस्ने र राम्रो अवसर पाए छोडेर जाने गरेको सुनाउँछन् । ३ वर्षे कोर्षका लागी विगतमा सिभिलका लागी २ लाख ५० हजार र नापि सर्भेक्षक लागी २ लाख ४० हजार सम्म लिने गरेको भएपनि हाल १ लाख ९० हजार लिने गरेको लम्साल बताउँछन । सो रकम सेमेस्टर अनुसार तिनु पर्ने र १० हजार धरौटी वापतको रकम लाग्ने उनले बताए ।

विद्यालयले प्राविधिक धारका कक्षा ११ र १२ मा साधारण तर्फका कक्षहरू पनि सञ्चालन गर्दै आईरहेको छ । विद्यालयले विज्ञान, व्यवस्थापन, कानुन र शिक्षा समुहका कक्षहरू सञ्चालन गर्दै आएको लम्सालको भनाई छ । १० कक्षासम्म पढ्दै आएका विद्यार्थी अन्य विद्यालय जाने र अन्य विद्यालयबाट विद्यार्थीहरू आउने गरेको उनले सुनाए ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech