बाँके\नेपालमा अहिले मौसमले दुई फरक चरित्र देखाएको छ। देशका पूर्वी तथा मध्य पहाडी क्षेत्रमा लगातार वर्षा र हिमपात भइरहेको बेला सुदूरपश्चिम र लुम्बिनीका तराई भूभागमा अत्यधिक गर्मी र तातो हावाको प्रभाव बढ्दो छ। जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी नेपाल नजिक बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावले यस्तो मिश्रित अवस्था सिर्जना भएको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे क्षेत्रमा सबैभन्दा बढी ८१.६ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा पनि शुक्रबार बिहानदेखि हल्कादेखि मध्यम वर्षा जारी रहेको छ। टोखा, नागार्जुन, कीर्तिपुर, चन्द्रागिरि, भक्तपुरको टथली र काभ्रेको पाँचखाललगायत क्षेत्रमा लगातार पानी परिरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ। मधेश, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा पनि छिटपुट वर्षा हुन सक्ने पूर्वानुमान छ। रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा वर्षा जारी रहने सम्भावना देखिएको छ।
उता पश्चिमी तराई क्षेत्रमा भने गर्मी झन् बढ्दो क्रममा छ। विशेषगरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा तातो लहर चल्न सक्ने चेतावनी मौसमविद्ले दिएका छन्। दिउँसोको समयमा तापक्रम अत्यधिक बढ्न सक्ने भएकाले नागरिकलाई घरबाहिर कम निस्कन र प्रशस्त पानी पिउन आग्रह गरिएको छ।
मौसमविद्हरूका अनुसार वर्षा भइरहेका क्षेत्रमा चट्याङ, पहिरो र सडक अवरोधको जोखिम रहन सक्छ भने गर्मी बढेका क्षेत्रमा लू लाग्ने सम्भावना उच्च छ। विभागले कृषि, यातायात र दैनिक जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्क रहन अनुरोध गरेको छ।










