बाँके\बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८०/८१ लागि विनियोजन भएको बजेटको शतप्रतिशत खर्च हुने वातावरण बनाउन पहलकदमी अघि बढाइएको छ। राजनीतिक दलका युवाले बजेट कार्यान्वयन समन्वय समिति गठन गरेका छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका अनुसार सङ्घ र प्रदेशका कार्यालयतर्फ जिल्लामा विनियोजन भएको विकास बजेटमध्ये आव २०७९/८० मा करिब अढाई अर्ब रुपियाँ खर्च हुन सकेको थिएन ।
समितिको आयोजनामा मङ्गलबार सङ्घ, प्रदेश र स्थानीय तहबाट जिल्लामा विनियोजित बजेटलाई शतप्रतिशत कार्यान्वयनका लागि जिल्लाबाट प्रतिनिधित्व हुने सङ्घीय सांसद र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गरिएको छ।
बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य ढकालले बजेट कार्यान्वयनका सन्दर्भमा समिति बनाएर युवा क्रियाशील हुनु सराहनीय भएको बताउँदै यसले जनप्रतिनिधिसँगै सम्बद्ध कार्यालय र निर्माण व्यवसायीमा पनि समयमै काम सम्पन्न गर्नु पर्छ भन्ने दबाब पर्ने विश्वास व्यक्त गरेका छन । ढकालले निर्वाचनमा क्षेत्रमा राप्तीको कटान नियन्त्रण र नरैनापुरमा छात्रा कलेज स्थापनाका लागि समन्वय गरिरहेको उनले बताए ।
बाँके क्षेत्र नम्बर ३ ९१० बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्रीले विकास निर्माणका लागि रकम छुट्याउने मात्रै नभई विनियोजित बजेट खर्च हुन नसक्ने समस्या रहेको भन्दै यसको नियन्त्रणका लागि समन्वय समितिलाई सम्बद्ध सबै पक्षलाई जिम्मेवारीबोध गराउने बताए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दीपा शर्मा, प्रदेश सभा सदस्य दुर्गाप्रसाद चौधरी, वसन्ती अधिकारीले जिल्लाको समग्र विकास निर्माणका लागि साझा अवधारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन।
समितिका संयोजक खेमराज शर्माले अभियान अन्तर्गत बाँके जिल्लाबाट प्रतिनिधित्व गर्ने सङ्घीय र प्रदेश सभा सदस्यसहित स्थानीय तहका पदाधिकारी, निर्माण व्यवसायी र कार्यालय प्रमुखसँग दोस्रो चरणमा अन्तर्क्रिया गरी प्राप्त सुझावका आधारमा अघि बढ्ने उल्लेख गरेका छन।