१० मंसिर २०८१, सोमबार

कतारका राजा थानीलाई काठमाण्डाै विमानस्थलमा भव्य स्वागत
  • न्युज मानसराेवर

काठमाण्डाै: कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौ आइपुग्नुभएको छ । कतारका अमिर थानी दिउँसो पौने ४ बजेतिर विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएको हो । विमानस्थलमा उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको छ ।

कतारका अमिरलाई स्वागत गर्न राष्ट्रपतिसँगै स्वागतका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको निमन्त्रणमा कतारका अमिर दुई दिने राजकीय भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो । उहाँले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्नुभएको छ ।

भोलि बिहान कतारका अमिर र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच प्रतिनिधिमण्डलस्तरमा द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपालले कतारी राजासँग हमास लडाकु समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रहसमेत गर्ने भएको छ । त्यस्तै नेपालले कतारी राजालाई दुई वटा हात्ती उपहार दिने भएको छ ।

कतारसँग २०३३ साल माघमा नेपालको कुटनीतिक सम्बन्ध स्थापना भएयता कतारबाट मात्र नभई खाडी क्षेत्र (मध्यपूर्व) बाटै अहिलेसम्म राष्ट्राध्यक्षको स्तरमा हुन लागेको यो पहिलो नेपाल भ्रमण हो । कतारका राजा भोलि स्वदेश फर्किने कार्यक्रम छ । सरकारले कतारका राजाको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

कतारका अति विशिष्ट पाहुनाको स्वागतका लागि काठमाण्डौको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले स्वागतद्वार निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो ।

  • ११ बैशाख २०८१, मंगलवार प्रकाशित

  • Nabintech