बाँके\लुम्बिनी प्रदेश सरकारले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्दै छ । आज दिउँसो बस्ने चौथो अधिवेशनको पाँचौँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले सदनमा विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी गराएका छन।
दिउँसो १ बजेबाट सुरु हुने प्रदेश सभा बैठकमा सदस्यहरूले विशेष समयमा सम्बोधन गर्ने कार्यसूची समेत तयार पारिएको छ । यस अघि बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको थियो ।
यो विधेयकमा ९ वटा खण्डहरू रहेका छन् । यसअघि लुम्बिनीमा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक प्रमाणीकरण भएर ऐनको रूपमा जारी भइसकेको छ ।