कोहलपुर,बाँके: बाँकेको राप्तिमा आएको बाढीका कारण शुक्रवारदेखि नदी पार गर्न नसकेर रातभर फसेका चार जना मछवरा तथा मल्लाहको आइतबार शशत्र प्रहरीले उद्धार गरेको छ। बाँकेको राप्ती सोनारी गाउँपालिका ६ पिप्रहवाघाटस्थित राप्ती नदी पारीको किनारमा डुङ्गासहित फसेका चार जना मल्लाहलाई सशस्त्र प्रहरीले आइतबार उद्धार गरेको सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिएका छन।
रातभर फसेका राप्ती सोनारी ६ का दिनेश मल्लाह, राजु मल्लाह, ओम प्रकाश गोडिया र रामसिंह मल्लाहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेडक्वाटरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।
उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गण हेड क्वाटरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवबहादुर बोहोरा सहितको ४३ जना प्रहरीसहितको टोलिले उद्धार गरेको शशत्र प्रहरीले जनाएको छ ।
राप्ती नदीबाट सर्वसाधारणलाई डुङ्गामा राखेर वारिपारि गराउँदै आएका मल्लाहको उद्धारपछि तीन जनालाई लाइफ ज्याकेट समेत वितरण गरिएको छ ।