बाँके\संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ । लुम्बिनी प्रदेशमा नेकपा एमालेसहित ५ दलका ४८ सांसदहरुको समर्थनमा चैत २३ गते मुख्यमन्त्री बनेका माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई अब उनकै पार्टीका १० र नेकपा एसका १ सांसद मात्रै अब उनको पक्षमा रहेका छन् ।
असार २० गते नै २९ सांसदसहित प्रदेशमा ठूलो दल रहेको प्रमुख सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जोखबहादुर महरा पूर्ण अल्पमतमा परेका छन्। त्यसअघि असार ९ गते नै जसपा नेपालमा सांसद अम्बिका काफ्लेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकी थिइन् । केन्द्रीय राजनीतिमा फेरिएको नयाँ समीकरणले प्रदेश सरकार ढल्ने भएपछि मुख्यमन्त्री महराले राजीनामा दिने तयारी गरेको उनी निकट स्रोतले जनाएको छ ।
महरालाई साथ दिएका एमालेका २९ र जसपाका ३ सांसदले समर्थन फिर्ता लिइसकेका छन् भने ४ सांसद रहेको नागरिक उन्मुक्तिले केन्द्रमा पनि माओवादीलाई विश्वासको मत दिएको छैन । महरालाई साथ दिएको ५ दलमध्ये १ सांसदसहित मन्त्री बनेकी नेकपा एसकी भगवती घिमिरे मात्रै पक्षमा रहेकी छ । लुम्बिनीमा ८७ सदस्य प्रदेश सभा रहेको छ।
बहुमत पुर्याउनका लागि ४४ सीट चाहिन्छ। केन्द्रमा भएको दलीय समीकरण अनुसार एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसदको सहज बहुमत पुग्छ। अन्य साना दलहरु पनि सत्ता साझेदारको लागि तयारी रहेका छन् ।
जसपा, लोसपा, जसपा नेपाल, जनमत, नागरिक उन्मुक्ति नयाँ गठबन्धनमा साथ दिन केन्द्रबाट नै तयारी रहेको छ । तर प्रदेशमा भागवण्डा मिलाउन समस्या छ । प्रारम्भिक सहमतिअनुसार लुम्बिनीको नेतृत्व एमालेले पाउने छ । तर कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्य नेताहरुलाई भेटेर आफ्नो दावी पेश गरेर फर्केका
छन् ।
तर यहाँ ठूलो दल एमाले भएकाले कांग्रेसले पाउने संभावना न्युन छ । एमालेको नेतृत्वमा कांग्रेसबाट सरकारको नेतृत्वका लागि यसअघि मन्त्री बनेका दाङका राजु खनालले नेतृत्व गर्ने कांग्रेस नेताहरुको भनाइ छ । नयाँ समीकरणसँगै एमाले कांग्रेसका नेताहरु अहिले मन्त्री मण्डलमा आफू समावेश हुनका लागि आफू निकटका नेताहरुकोमा दौडधुप गरिरहेका छन् । कांग्रेसका धेरै सांसदहरु यसको लागि काठमाण्डौ नै पुगेर धर्ना बसेका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले केन्द्रको समीकरण अनुसार आफूहरुले कांग्रेससँग औपचारिक र अनौपचारिक कुराकानी थालिसकेको बताउँदै पहिले मुख्यमन्त्रीले मार्गप्रशस्त गरेपछि नयाँ प्रकृयामा जाने बताए । अल्पमतमा परेपछि जतिसक्दो छिटो यसको निकास दिनुपर्ने जानकारी माओवादीलाई गराइएकाले अब छिटै हुने विश्वास लिएको उनको भनाइ छ । कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिलसिनाले केन्द्रको सहमतिअनुसार नै अगाडि बढ्नेगरी एमालेसँग कुराकानी भइरहेको जनाए ।