९ मंसिर २०८१, आईतवार

डुडुवा खोलामा तोकिएको समयभन्दा ६ महिना अघि नै पुल निर्माण सम्पन्न

बाँकेको किरणनाला लगायतका खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ

  • न्युज मानसराेवर

नेपालगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका –४ कम्दी मिलनचोकस्थित डुडुवा खोलामा तोकिएको समयभन्दा करिब ६ महिना अघि नै पुल निर्माण सम्पन्न भएको छ ।

यसैगरी सम्झौतामा उल्लेख भएको भन्दा पनि कम रकममा पुल निर्माण भएको छ । बाँकेको किरणनाला लगायतका खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भइरहँदा डुडुवा खोलाको पुल भने समयभन्दा पहिले नै सम्पन्न भएको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीले आगामी पुस महिनासम्म निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि निर्माण कम्पनी नारायणम निर्माण सेवा प्रालि. नेपालगञ्जले असारभित्र सम्पन्न गरेको जानकारी दिए ।

पुल निर्माण २०८१ पुस ४ गते सम्पन्न गर्नेगरी २०७९ असार ५ गते सम्झौता भएको कार्यालयले जनाएको छ । निर्माण कम्पनीले निर्धारित समयभन्दा ६ महिनाअघि २०८१ असार २३ गते नै निर्माण सम्पन्न गरेको हो । १० करोड ७१ लाख रुपैयाँमा पुल निर्माण हुने सम्झौतामा उल्लेख भए पनि १० करोड ४३ लाख रुपैयाँमा काम सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताए ।

योजना निर्देशक भण्डारीले भने, ‘प्राविधिक, कर्मचारी र निर्माण ब्यवसायीको सहकार्य र समन्वयमा निर्धारित समयभन्दा पहिले नै काम सम्पन्न गर्न सफल भएका छौं ।’

हुलाकी सडक अन्तर्गत यसअघि निर्माण गरिएको पुल साँघुरो भएपछि नयाँ पुल निर्माण गरिएको हो । नयाँ पुल दुबैतर्फ १.७५ मिटर पदमार्गसहित ११ मिटर चौडाइको छ । २ स्पान रहेको पुल ६६ मिटर लामो रहेको छ । स्थानीय जमिल खाँले राप्ती नदीमा बर्षौसम्म ढिलागरी पुल निर्माण भएको देखेका आफुहरु डुडुवा खोलाको कामबाट खुशी भएको बताए ।

उनले पुल निर्माण भएपछि डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकासहित नेपालगञ्ज सिधनिया हुँदै अगैयास्थित पूूर्व–पश्चिम राजमार्ग पुग्ने हजारौंलाई सहजता भएको जानकारी दिए ।

  • ३१ श्रावण २०८१, बिहीबार प्रकाशित

  • Nabintech