१० मंसिर २०८१, सोमबार

लुम्बिनीमा सरकारी सुविधाको दुरुपयोग
  • न्युज मानसराेवर

बाँके\लुम्बिनीका पूर्व मुख्यमन्त्री कूलप्रसाद केसी र पूर्व सभामुख पूर्णबहादुर घर्तीले लिएको सरकारी सुविधाको गाडी अझैसम्म फिर्ता गरेका
छैनन् । पदावधि सकिएको लामो समय बिते पनि केसी र घर्तीले सरकारी गाडी प्रयोग गरिरहेका हुन् ।वि.सं. २०७८ साउन २८ देखि २०७९ पुस २६ गतेसम्म मुख्यमन्त्री रहेका केसी अहिले नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेश सह–इञ्चार्ज हुन् ।

त्यस्तै, घर्ती २०७४ फागुन २ गतेदेखि २०७९ पुससम्म ५ वर्ष प्रदेश सभाको सभामुख बनेका थिए । घर्तीले लु १ झ ४४४ नम्बरको गाडी प्रयोग गरिरहेका छन् । माओवादीबाटै प्रतिनिधित्व गर्ने घर्ती रुकुमपूर्वबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

१० वर्ष लामो सशस्त्र द्वन्द्वपछि प्रदेश सत्ताको नेतृत्व गरेर बाहिरिँदा उनीहरूले आफूअनुकूल नीति बनाएर गाडी प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । दुवैले प्रयोग गरिरहेका गाडी निकै महंगा छन् ।केसीले आफू बाहिरिने बेलामा मन्त्रिपरिषद्बाट मुख्यमन्त्री र सभामुखले सवारी सुविधा पाउने निर्णय गराएका थिए । केसीपछि लुम्बिनीमा चारवटा सरकार बनिसकेको छ ।

प्रदेशसभा सचिवालयका स्टोर किपर दीपेन्द्र अधिकारीले पूर्व पदाधिकारीको हैसियतमा घर्तीले गाडी प्रयोग गरिरहेको बताए । ‘गाडी दुरुपयोग नै त भन्न नमिल्ला, ऐनमा भएको व्यवस्थाअनुसार नै लिनुभएको छ,’ अधिकारीले भने ।उनीहरूलाई चालक, मर्मत खर्चदेखि इन्धन समेत प्रदेश सरकारले नै उपलब्ध गराएको छ ।पूर्वमुख्यमन्त्री केसीलाई पटक–पटक ताकेता गर्दा पनि गाडी फिर्ता नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

निवर्तमान मुख्यमन्त्रीले सुविधा पाउने भए पनि केसीपछि लुम्बिनीमा चारवटा सरकार बनिसकेका छन् । केसीपछि नेकपा एमालेका लीला गिरी, त्यसपछि नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रका जोखबहादुर महरा र अहिले नेकपा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् । गिरी, चौधरी र महराले पार्टी संसदीय दलको नेताको हैसियतमा पाउने सवारी सुविधा लिएका छन् । लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले भने आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेका छन् ।

  • २ भाद्र २०८१, आईतवार प्रकाशित

  • Nabintech