कोहलपुर,बाँके: बाँकेको कोहलपुर- नेपालगन्ज सडकखण्डको डिभाईडरमा गाई बान्न नदिएको रिसको झेकमा एक ब्यक्तिले बिरूवा काटिदिएका छन । कोहलपुर नगरपालिका १० रामनगरमा सडकको बीच भागमा रोपेका करिव ५ बिरूवा काटेर भागेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष अध्यक्ष गौरा कुमारी अधिकारीले स्थानीय लिला भुसालले पाँच वटा समीका बिरुवा काटिदिएको बताएकी छिन। उनका अनुसार भुसाल फरार छन् र उनका भाइले दाजुलाई नगरपालिकामा उपस्थित गराउने बाचा गरेका छन् ।
‘८-१० वर्ष लगाएर हुर्काएका समीका बिरुवा कस्तो राम्रोसँग हुर्किएर झ्याङ्ग परेका थिए । पाँचटा बिरुवा काटेर सोत्तर बनाइदिएका छन्,’ वडाध्यक्ष अधिकारीले भनिन् ।
वडाध्यक्ष अधिकारीका अनुसार लिला भुसालले सडकको बीच भागका ती रुखमा गाई बाँध्ने गर्दथे । सोमबार दिउँसो नगर प्रहरीले गाईको दाम्लो काटिदिएको थियो । त्यसैको झोंकमा भुसालले सोमबार राति रुख काटिदिएको वडाध्यक्ष अधिकारीले बताइन् ।
‘सीसीटीभी फुटेजमा छोराले रुख काटिरहेको र आमाले घरबाट हेरिरहेको देखिन्छ,’ उनले भनिन्, ‘गाई बाँध्न नदिएको रिस पोखेछन् ।’ उनले पाँच वटा रुख काटिएको अवस्थामा रहेको र एउटा आरीले काट्दाकाट्दै छोडेको देखिएको जानकारी दिइन्