नेपालगन्ज: जिल्लाको राप्तीसोनारी गाउँपालिकाले सो गाउँपालिकाको शमशेरगन्जमा रहेको सशस्त्र प्रहरी बलको रिजर्भ गणलाई बिशेषगरी राजमार्गमा हुने दुर्घटनामा परेकाको उद्धार गरेर अस्पताल पुगाउने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
राजमार्गमा दुर्घटना बढ्दै गएको र कोहलपुर तथा नेपालगन्जबाट घट्नास्थलमा एम्बुलेन्स पुग्न समय लाग्नेगरेकाले अबदेखि राजमार्गको शमसेरगन्जमा रहेको शसस्त्र प्रहरीको रिजर्भ गणमा सधैं उपलब्ध हुनेगरी एम्बुलेन्स हस्तान्तरण गरिएको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताउनुभयो ।
उहाँले एक कार्यक्रमबिच सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीलाई भे १ झ ३४१ नम्बरको एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।
राप्तीसोनारी गाउँपालिका बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रसँग र राजमार्गसँग जोडिएको हँदा यहाँ धेरै सडक दुर्घटना र सर्पदंशका घटना हुने गरेकाले घाइते र बिरामीलाई समयमै अस्पताल पुगाउन नसक्दा धेरैको ज्यान जाने गरेकाले सो रोक्न एम्बुलेन्स प्रदान गरिएको पालिकाले जनाएको छ ।
कोहलपुरदेखि कुसुमसम्मको राजमार्गमा गत केही समय यता दुर्घटना निकै बढेको र ती दुर्घटनामा परेर घाइते हुनेहरुको उद्धारमा ढिलाइ हुने गरेकाले समस्या पर्ने गरेको थियो । यसैगरी सो क्षेत्रका वरिपरिका गाउँबस्तीमा सर्पदंशका घट्ना पनि धेरै हुन थालेकाले त्यहाँबाट बिरामीलाई नेपालगन्ज पुगाउन ढिलाइ हुनेगर्दा उपचारमा समस्या हुँदैआएको छ ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले सीमा सुरक्षा र विपदका घट्नामा उल्लेख्य भूमिका निर्वाह गर्दैआएको शसस्त्र प्रहरीलाई थप काम गर्न सहजताका लागि एम्बुलेन्स सहयोगी बन्ने बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ४२ रिजर्भ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले राप्तीसोनारी गाउँपालिकाले एम्बुलेन्स प्रदान गरेर निकै सराहनीय काम गरेको जनाउँदै यसको बढीभन्दा बढी सदुपयोगमा जोड दिनुभयो । कार्यक्रममा सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि तथा सो क्षेत्रका सर्वसाधारणको पनि सहभागिता रहेको थियो ।