बाँके : बाँकेमा सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको धान परियोजना अन्तर्गत यस वर्ष जिल्लामा एक लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ बर्दियाले विगत ३ वर्षदेखि बाँकेमा धान जोन परियोजना लागू गरी धान खेती प्रवद्र्धनमा सहयोग गर्दै आएको छ । सो परियोजनाअन्तर्गत यस वर्ष १ लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको हो ।
बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडामा परियोजनाले धान खेतीका लागि सिँचाइ, कृषि यान्त्रीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ ।
परियोजनाअन्तर्गत जानकी गाउँपालिकाको वडा नं १, २, ३, ४, खजुरा गाउँपालिकाको २ र ४, बैजनाथ गाउँपालिकाको २, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागू गरिएको छ । जसअन्तर्गत २ हजार ३४१ हेक्टर क्षेत्रफलमा धान खेतीमा प्रवद्र्धन गर्ने कार्यक्रम लागू गरिएको छ । चालु आर्थिक वर्षको यो धान सिजनमा करिब १ लाख क्विन्टल धान उत्पादन हुने अनुमान गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए ।
बाँकेमा परियोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८१/८२ बाट तरकारी जोनको कार्यक्रम पनि सञ्चालन गरिँदै छ । जसअन्तर्गत करिब ५०० हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले जानकारी दिए । चालु आर्थिक वर्षमा १ करोड २९ लाख धान खेती र ५० लाख तरकारी खेती प्रवद्र्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ ।