९ मंसिर २०८१, आईतवार

नेपालगञ्जनाका हुँदै भारतबाट घर फर्कने नेपाली हुल बाँधेर स्वदेश फर्किदै

सोह्रश्राद्ध सुरु हुनुभन्दा दुई दिन अघिदेखि नेपालीहरु फर्किने क्रम

  • न्युज मानसराेवर

नेपालगञ्ज : दशैँ नजिकिएपछि कामका लागि भारत गएका नेपाली घर फर्किन थालेका छन् । सोह्रश्राद्ध समेत गर्ने गरि नेपालीहरु फर्किन थालेका हुन् । सोह्रश्राद्ध गर्नेगरि नेपाल आएको बबई गाउँपालिका ३, दाङका हरिभक्त डाँगीले बताए । परिवारका सदस्यसहित आउँदै गरेका उनले दशैँ, तिहार मनाउनका लागि आएको बताए । ‘पोहोर सालको दशैँ, तिहार भारतको चण्डीगढमा मनायौँ । यसपालीको दशैँ, तिहार घरमै मनाउने गरि आएका छौँ,’ उनले भने, ‘सोह्रश्राद्ध गर्नुपर्ने भएकोले एक दिन अगाडी नै आयौँ ।’

बनगाड कुपिण्डे नगरपालिका ६, सल्यानका सागर थापा बुधवार नेपालगञ्ज नाका हुँदै भारतबाट घर फर्किएका छन् । शिम्लाबाट फर्किदै गरेका उनी गत वर्षको दशैँ, तिहार मनाएर कामका लागि त्यहाँ गएका हुन् । सोह्रश्राद्ध गर्न हतारिँदै आएका उनी दशैँ, तिहारले घर सम्झाएको बताए । ‘दशैँको मिति नजिकिएदेखि परदेशमा बस्न मनले मानेन,’ उनले भने, ‘कामको चिन्ताभन्दा दशैँ, तिहारले तान्यो । दशैँ नजिकिएदेखि भारतमा बस्नै सकिएन ।’

कतिपय बालबच्चासहित घर फर्किएको देखिन्छ । घर लिपपोत गर्ने र दशैँमा आवश्यक पर्ने सरसामान जोहो गर्न चाँडै घर फर्किएको जुनीचाँदे गाउँपालिका १ का तुलबहादुर विश्वकर्माले बताए । बालबच्चासहित गत वर्ष भारतको कुल्लु मनाली गएका उनी घरमा कोही नभएकोले तयारीका लागि आएको बताए । ‘घर लिपपोत गर्ने, मासु लगायत दसैँमा आवश्यक पर्ने सामान जोहो गर्न छिटो घर आउनु पर्यो,’ उनले भने ।

कामका लागि भारत गएकाहरु हुल बाँधेर स्वदेश फर्किरहेका छन् । एउटा समुहमा १०–१२ जना आउने गरेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले जानकारी दिए । सोह्रश्राद्ध सुरु हुनुभन्दा दुई दिन अघिदेखि नेपालीहरु फर्किने क्रम बढेको उनले बताए ।

उनका अनुसार, भदौँ महिनाको अन्तिम साताको तुलनामा १ असोजमा धेरै नेपाली स्वदेश फर्किएका छन् । उनले १ असोजमा करिव तीन हजार नेपाली स्वदेश फर्किएको बताए । ‘भारतबाट नेपाल आएको संख्या ६ हजार ९०३ जना थियो । तिमध्ये आधा कामका लागि भारतका नेपाली हुन्,’ उनले भने, ‘बुधवार पनि सोही हाराहारीमा नेपाली स्वदेश फर्किएको तथ्यांक छ ।’

उनले दशैँ, तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले उचित प्रवन्ध गरेको बताए । ‘रिक्सा, ई–रिक्सा, बस, हाइस र होटल ब्यवसायीबाट ठगिने र लुटिने सम्भावनालाई मध्यनजर गरि नेपाल प्रहरीले सचेतना अभियान समेत चलाएको छ,’ उनले भने ।

अघिल्लो वर्षको तथ्यांक अनुसार, टीकाको अघिल्लो दिनसम्म भारतबाट नेपाली आउने गर्दछन् । जतिजति दशैँ नजिक आउँछ त्यति धेरै नेपाली भारतबाट आउने गरेको प्रहरी निरीक्षक बुढाथोकीले बताए । उनी भन्छन्, ‘भारतबाट आउने नेपालीलाई लिन होटल ब्यवसायी नाकामै पुग्ने गरेको पाइएपछि आउनेलाई पहिलो पटक सचेत गराउने र पुनः त्यसो गरेको पाइए कानुन बमोजिम कारवाही गर्ने जानकारी गराएका छौँ ।’

  • ४ आश्विन २०८१, शुक्रबार प्रकाशित

  • Nabintech