५ आश्विन २०८१, शनिबार

बडादशैंको टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे
  • न्युज मानसराेवर

कोहलपुर,बाँके:वि.सं. २०८१ को बडादशैंको उपलक्ष्यमा गरिने विभिन्न कार्यहरुको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार शुभसाइत सार्वजनिक गरेको छ ।  जस अनुसार नवरात्र आरम्भ तथा घटस्थापनको साइत असोज १७ गते बिहीबार बिहान ९:१६ बजे रहेको छ ।

यसैगरी, असोज १८ गते झण्डा फेर्ने (पश्चिम मोहडा) बिहान ९:१४ बजे छ भने पचली भैरव यात्रा असोज २२ गते मङ्गलबार परेको छ ।  असोज २४ गते बिहीबार फूलपाती, श्री तुलजा भवानी यात्रा बिहान ७:११ बजे, स्थिरासन बिहान ८:४३ मा शुभ साइत रहेको छ । यसैगरी, असोज २५ गते महाष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ ।

असोज २६ गते शनिबार विजया दशमी, देवी बिर्सन बिहान ८:३३ बजे शुभ साइत छ भने टीका लाइदिने (पूर्व मोहडा) र टीका लगाइ माग्ने पश्चिम फर्केर लगाउनु पर्ने छ । टीका लगाउने शुभसाइत बिहान ११:३६ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

असोज ४ गते समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेल, सदस्य प्राडा देवमणि भट्टराई र अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीद्वारा हस्ताक्षर गरिएको साइतमा सो कुरा उल्लेख छ ।

  • ५ आश्विन २०८१, शनिबार प्रकाशित

  • Nabintech