बाँके\बाँकेको खजुरामा गतहप्ता चितुवा आक्रमणमा परी अढाइ वर्षीया बालिकाको ज्यान गएपछि चितुवाको खोजीमा सुरक्षाकर्मी, प्राविधिक र स्थानीयबासीको टोली परिचालन गरिएको छ ।बालिकामाथि आक्रमण गर्ने चितुवा अझै नियन्त्रणमा आउन सकेको छैन । चितुवाले बालिकामाथि आक्रमण गरेयता खजुरा वन क्षेत्र नजिकका स्थानीय त्रसित छन् ।
एक हप्ताअघि खजुरा गाउँपालिका–६ सिमलघारीका वीरेन्द्र पुनकी अढाइ वर्षीया छोरी लक्ष्मी पुनको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।अघिल्लो आइतबार घरबाटै बेपत्ता भएकी पुनको मंगलबारमात्रै घर भन्दा एक किलोमिटर पर शव भेटिएको थियो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहका अनुसार राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित गिजरा सामुदायिक वनमा सुरक्षाकर्मी, प्राविधिक र स्थानीयबासीको टोलीले चितुवाको निरन्तर खोजी गरिरहेका छन् ।
‘प्राविधिक टोलिले काम गरिरहनुभएको छ । माउसहित दुईवटा चितुवा ट्र्याक गर्न सफल भएका छौं । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले भने, ‘बाघ भन्ने हल्ला गरेअनुसार बाघ देखिएको छैन चितुवा हो भन्ने तथ्य चाहिँ फेला पारेका छौं ।’
चितुवालाई नियन्त्रणमा लिन क्यामेराको निगरानीमा ३ वटा खोरमा बाख्रा राखेर लोभ्याउने प्रयास भइरहेको छ । तर चितुवा खोरसम्म पुगेर भित्र नपसेरै जाने गरेको बाँके इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक पूर्ण केसीले बताए । ‘अहिले प्राविधिक टोली र स्थानीयको सहयोगमा जुटिरहेका छौं,’ प्रहरी निरीक्षक केसीले भने , ‘रातिसम्म चितुवाको मुभमेन्ट देखिए पनि अहिले क्यामरामा चितुवा पनि देखिएको छैन ।’