९ मंसिर २०८१, आईतवार

विदेशवाट फर्केर श्रीमानले गोलि प्रहार गर्दा श्रीमतीको मृत्यु, वुवा घाईते
  • न्युज मानसराेवर

सर्लाही:सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। गोली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ। गएराति पौने २ बजे हरिपूर्वा – ५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

‘टाउकोमा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले  भने, ‘हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।’

धिरेन्द्र एक महिनाअघि मात्रै वैदेशिक रोजगारी  (कुवेत)बाट फर्किएको पाइएको प्रहरीले जनाएको छ। उनले पत्नीलाई हत्या गर्नुको कारण भने खुलेको छैन। ‘घरायसी विवादमा हत्या भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्यापछि उनी फरार छन्। हामी खोजी गरिरहेका छौँ।’

प्रहरीका अनुसार कुबेतबाट फर्किएदेखि नै धिरेन्द्रले पत्नीसँग झगडा गरेका थिए। त्यसपछि घरमा २/ ३ दिन बसेर उनी भारततिर गएका थिए। त्यसयता घर नफर्किएका उनी गएराति मोटरसाइकलमा एकजनालाई साथमा लिएर घर आएका थिए। मध्यराति घरमा पुग्नासाथ उनले गोली प्रहार गरेर पत्नीको हत्या गरेका हुन्।

बुहारीलाई गोली प्रहार हुन थालेपछि छुट्याउने क्रममा ससुरालाई पनि गोली लागेको अनुमान प्रहरीले गरेको छ। गोली लागे पनि युवकका बुवाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घिरेन्द्र र चित्रलेखाका एउटा छोरी छन्। उनी भने सकुशल छिन्।

घिरेन्द्रले पत्नी र बुवामाथि तीन गोली प्रहार गरेका छन्। एउटा गोली भने मिसफाइर भएको पाइएको प्रहरीले जनाएको छ। गोली प्रहारपछि उनी मोटरसाइकल चढेर भारततिर भागेको आशंका स्थानीयले गरेका छन्।

  • १० आश्विन २०८१, बिहीबार प्रकाशित

  • Nabintech