९ मंसिर २०८१, आईतवार

नेपालगन्ज नाका भएर घर फर्किनेहरुको लर्को

दैनिक ३ हजार ५ सयसम्म नेपालीहरू भारतबाट फर्किने गरेका छन् 

  • न्युज मानसराेवर

कोहलपुर,बाँके:नेपालीहरूको सबैभन्दा ठूला पर्व दशैं, तिहार तथा छठ नजिकिंदै गएको छ । नेपालीहरू ठूलो संख्यामा भारत रोजगारी तथा अध्ययनका लागि जाने गरेका छन् । उनीहरू स्रोह्र श्राद्धको सुरुवातदेखि नै पर्व मनाउन तथा पितृ कार्यका लागि फर्कने गरेका छन् । पछिल्लो समय दैनिक भारत श्रमका लागि जानेहरू फर्किने क्रम बढ्दो रहेको छ । इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार पर्वलाई लिएर फर्किने नेपालीहरूको भीड सीमामा बढेको पाइन्छ ।

यस बर्ष दशैंको घटस्थापना असोज १७ गते र टिका असोज २६ गते परेको छ । ‘भारत कमाउन गएका थियौं, अब दशैं, तिहार मनाएर फर्कन्छौं’, बिहीबार सीमामा झोला बोकेर जमुनाह नाका पार गरिरहेका दिपेश खत्रीले भने । कतिपय बालबच्चा सहित भारत जानेहरू पनि लामबद्ध नेपाल फर्किने गरेको जमुनाह नाकामा देख्न सकिन्छ ।

‘खेतीपातीले मात्रै पुग्दैन, त्यसैले भारत जाने आउने क्रम चलिरहन्छ’, दैलेख घर बताउने हरि शाहीले भने, ‘अब पर्व सँगै खेती स्यहारेर तिहार पछि फर्कन्छु ।’ नेपालगन्ज नाका भएर पश्चिम नेपालका विभिन्न जिल्लाबाट भारत कमाउन नेपालीहरू जाने गर्दछन् । नेपालीहरू भारतका विभिन्न सहरमा काम गर्न जाने गरेका हुन् । कतिपय नेपाली ससाना बालबालिका सहित भारत जाने गरेको पाइन्छ ।

रुकुमका सुजन शाहीले बर्ष दिनको ठूलो पर्व भएकाले दशैं मनाउन घर फर्किएको बताए । करिब १०/१५ जनाको ग्रुप सहित फर्किएका उनले भने, ‘भारत जाने रहर त होइन, यहाँ काम नपाइएपछि जाने गरेका हौं ।’ ‘जीविकोपार्जनका लागि दुःख गर्न भारत गएका हौं, पर्वमा परिवारसँग रमाइलो गर्न फक्र्यौ’, राजन खड्काले भने । हिरा बिकले पनि दशैंका लागि भनेर कामबाट बिदा लिएर आएको बताए ।

इलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, पछिल्ला दिन दैनिक ३ हजार ५ सयसम्म नेपालीहरू भारतबाट फर्किने गरेका छन् । दशैं नजिकिंदै जाँदा यो संख्या थपिंदै जाने सीमामा खटिएका प्रहरी अधिकारीहरूले बताए । विगतका बर्षहरूमा घर फर्किने नेपालीहरू लुटिने गरेपछि प्रहरीले नाकामा निगरानी बढाउने गरेको छ । दसैँतिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले विभिन्न प्रबन्ध मिलाएको पनि जमुनाहा प्रहरीले जनाएको छ ।

रिक्सा, ई रिक्सा, बस, हायस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपाली बर्सेनि ठगिने र लुटिने हुँदा सो सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको जमुनाह प्रहरी बताएको छ ।

  • १३ आश्विन २०८१, आईतवार प्रकाशित

  • Nabintech