बाँके\बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ सिमल घारीका वीरेन्द्र पुनकी अन्दाजी ३ वर्षीया छोरी लक्ष्मी पुनलाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको छ ।
बालिकालाई खाने चितुवालाई शुक्रवार बिहान नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिएका छन।
गत भदौ ३० गते राति आफ्नो घरमा खेल्दै गरेको अवस्थामा बालिका एक्कासि बेपत्ता भएकी थिइन। असोज १ गते बिहान बालिकाको शव घर नजिकै रहेको गिजरा सामुदायिक वनबाट आधा शरीर खाएको अवस्थामा भेटिएको थियो ।
स्थानीयले बालिकालाई बाघले खाएको आशङ्का गरेका थिए तर उक्त वनमा बाघ नभएर चितुवा हुन सक्ने आशङ्का गरेर वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिनका लागि तीन वटा खोर (केज) र पाँच वटा सिसी क्यामेरामार्फत खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो ।
बालिका लक्ष्मीको शव असोज १ गतेका दिन घरदेखि करिब १ किलोमिटर पश्चिमतर्फको जङ्गलबाट जङ्गली जनावरले खाएर बाँकी रहेको अवस्थामा टाउको र एउटा दाहिने खुट्टा मात्र फेला परेको थियो ।