बाँके:नेपालगञ्जबाट अवैध रुपमा नेपाल भित्र्याइएका चल्ला प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार भारतबाट अवैधरुपमा नेपाल ल्याइएका दुई हजार ३५० वटा कुखुराको चल्ला नेपालगञ्ज १७ नदई गाउँबाट बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी तुलबहादुर कार्कीले भारतबाट अवैध रुपमा ल्याइएका चल्ला नियन्त्रणमा लिइएको बताए । उनले चाडपर्वको समयमा अवैध ओसारपसार बढेकोले प्रहरीले कडाइ गरेको बताए ।
बरामद चल्ला पशु–क्वारेन्टाइन नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सरकारले बोइलर कुखुरा, कुखुराका चल्ला, अण्डा आयातमा प्रतिबन्ध लगाएको छ । आयातमा प्रतिबन्ध लगाए पनि नेपालगञ्ज नाकाबाट ठुलो परिमाणमा कुखुरा, चल्ला र अण्डा अवैधरुपमा नेपाल भित्रिने गरेको छ ।