नेपालगञ्ज : पछिल्लो समयमा देशमा केही काम छैन भनेर दैनिक सयौँको संख्यामा युवाहरु रोजगारी खोज्न विदेश जाने गरिरहँदा नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहाका २५ वर्षीय युवा रिजवान अहमद बागवान भने नेपालगञ्जमै ग्रीलसम्बन्धी काम गरेर स्वरोजगार बनिरहेका छन् ।
उनी विगत पाँच वर्षदेखि ग्रील उद्योग सञ्चालन गरेर स्वरोजगारी बन्दै आएका हुन् । यसैको कमाइबाट घरपरिवारको खर्चसमेत चलाउँदै आएको उनको भनाइ छ । उनले विगत पाँच वर्षदेखि नेपालगञ्ज १५ जमुनाहामा ‘अली ग्रील उद्योग’ सञ्चालन गर्दै आएका छन् ।
“मेरा धेरै साथीहरु विदेश गएका छन्, दुःख पाएका छन् । कसै कसैको मात्र केही राम्रो भएको देखेको छु, नत्र धेरैले दुःख पाएको सुनेको छु ।” बागवानले भने, “मलाई पनि विदेश जाउँ, रुपैयाँ कमाउँ भन्ने धेरै साथीहरु थिए, तर मलाई कहिले पनि विदेश जान मन लागेन । आफ्नै देशमा केही गर्छु भनेर सानैदेखि सोच थियो, देशमै स्वरोजगारी गर्छु भनेर यो पेशा अपनाएँ ।”
बागवानले देशमा केही काम छैन भनेर यहाँ केही गर्ने सोच नै नगरी युवाहरु विदेश जाने काम गलत भएको बताए । “विदेश जाने युवाहरुले हाम्रो देशमा काम गर्नुहुन्न, गर्ने सोचैँ राख्नुहुन्न । उहाँहरुको सोच विदेश नै जाने हुन्छ, तर त्यहाँ भनेजस्तो हुँदैन, धेरैले दुःख पाउनुहुन्छ । ऋण खोजेर लगेको पैसा पनि डुब्ने सम्भावना हुन्छ । पछिसम्म सन्तानले दुःख पाउँछन् ।”
“जे काम गर्न पनि दुःख हुन्छ, यहीँ केही न केही इलम गरे रुपियाँ कमाउन सकिन्छ, मैले बिगत पाँच वर्षदेखि ग्रीलको काम गरिरहेको छु । सुरुको दुई वर्षसम्म अति नै कष्ट भयो, अरुकोमा काम सिकेर बसेँ, यही कामका लागि केही महिना सुर्खेतसम्म पनि पुगेँ” उनले भने, “अहिले आफ्नै पेशा छ, दुई तीन जनालाई रोजगारीसमेत दिएको छु, सबै खर्च कटाएर मासिक ४०–५० हजार रुपैयाँ आम्दानी गरिरहेको छु ।”
नेपालमा सानो काम नगर्ने, दुःख नगर्ने, सीप नसिक्ने अनि विदेश जाने गर्दा धेरै दुःख कष्ट झेल्नुपरेको आफूले देखेको उनले बताए । आफ्नो युवाअवस्थामा जति विदेशमा बिताउनुपर्ने, विदेशमै पसिना बगाउनुपर्ने भनेजस्तो रुपियाँ पनि कमाउन नसकिने र परिवारसँग पनि दिन बिताउन नपाउनुभन्दा नेपालमै सानातिना कामहरु गरेर आम्दानी गर्न सकिने उनको सुझाव छ ।
“काम ठूलो सानो हुँदैन, मुख्य भनेको इच्छाशक्ति हो, अहिले त सरकारले पनि हामीजस्ता युवाहरुलाई विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको छ । आफूले चाहेको क्षेत्रमा सीप सिक्नुपर्छ । सीप सिकेर सम्बन्धित क्षेत्रमा पेशा व्यवसाय गर्दा सरकारले पनि आवश्यक सहयोग गर्छ” बागवानले भने ।
नेपाली युवाहरुले देशमै बसेर सीप सिकेपछि यहीँ केही न केही काम गरेर आफ्नै ठाउँमा विभिन्न किसिमका पेशा व्यवसाय गर्न सकिने उनको भनाइ छ । आफ्नो परिवारसँगै बस्न पाइने र रुपैयाँ कमाउन सकिने बागवानले बताए । सीपविना विदेश गएर भौँतारिनुभन्दा सीप सिकेर स्वदेशमै प्रशस्त काम रहेको उनले सुझाव दिए ।